वैदेशिक रोजगारीका लागि ११० मुलुक खुला, १५१ मुलुक पुग्छन् युवा
सरकारले वैदेशिक रोजगारीका लागि नेपाली युवालाई ११० मुलुकमा मान्यता प्रदान गरेको छ । तर, आकर्षक तलब र सुरक्षित कार्यस्थलको खोजी गर्दै नेपाली युवा १५१ मुलुकमा पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार सरकारले मान्यता दिएका ११० मध्ये ९९ मुलुकमा मात्रै नेपाली गएका छन् । श्रम गर्न नेपाली पुगेका अन्य ५२ मुलुक सरकारले मान्यता नदिएका हुन् ।
सरकारले श्रमका लागि ११० मुलुक जान खुला गरे पनि श्रम सम्झौता भने १२ देशसँग मात्रै गरेको छ । श्रम मन्त्रालयका अनुसार कतार, दक्षिण कोरिया, बहराइन, जोर्डन, मलेसिया, जापान, मौरिसस, युएई, इजरायल, बेलायत, रोमानिया र जर्मनीसँग श्रम सम्झौता भएको छ । थप दुई देश साउदी र ओमानसँग श्रम सम्झौताका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ ।
‘साउदी र ओमानसँग हस्ताक्षर भएपछि श्रम सम्झौता हुने मुलुकको संख्या १४ पुग्नेछ,’ श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले भने । वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र तलब–सुविधाको सुनिश्चितताका लागि सबै गन्तव्य मुलुकसँग श्रम सम्झौतालाई प्राथमिकतामा राखिएको बताए । ‘श्रम सम्झौता भएपछि तोकिएको काम गर्न लगाउने र तोकिएको ज्याला दिनुपर्ने सर्त पालना गर्न सम्बन्धित देश र त्यहाँको कम्पनी जवाफदेही बन्नुपर्छ,’ उनले भने, ‘कुनै कामदारलाई सर्तविपरीतको कार्य गराए कानुनी उपचारको बाटो रहन्छ ।’
विदेशी रोजगारदाताले सर्त पालना नगर्दा श्रम सम्झौता भएको खण्डमा कानुनी उपचार खोज्न सजिलो हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए । ‘श्रम सम्झौता भएको मुलुकमा युवालाई पठाउन तुलनात्मक रूपमा सहज हुन्छ । कुनै समस्या भयो भने कानुनी लडाइँ लड्ने अधिकार रहन्छ,’ गुरुङले भने, ‘त्यसैले सरकारले जतिसक्दो धेरै देशसँग श्रम सम्झौता गरेर वैदेशिक रोजगारीको दायरालाई विस्तार गर्न सहयोग गर्नुपर्छ ।’ तर, रोजगारीका लागि धेरै युवा जाने खाडी मुलुकमध्ये कुवेतसँग पनि श्रम सम्झौता हुन सकेको छैन । ०८१/८२ मा कुवेतमा ५९ हजार ६५ युवा रोजगारीका लागि पुगेको तथ्यांक छ ।
१२ देशसँग मात्रै श्रम सम्झौता
वैदेशिक रोजगारी मर्यादित, सुरक्षित र उपयुक्त तलब–सुविधाको सुनिश्चितताका लागि सरकारले हालसम्म १२ देशसँग मात्रै श्रम सम्झौता गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कतार, दक्षिण कोरिया, बहराइन, जोर्डन, मलेसिया, जापान, मौरिसस, युएई, इजरायल, बेलायत, रोमानिया र जर्मनीसँग श्रम सम्झौता भएको छ । यीमध्ये कोरिया र इजरायल सरकारीस्तरबाट युवा पठाइने गरिएको छ भने जापानमा सरकारको सहजीकरणमा म्यानपावर र कन्सल्टेन्सीले युवालाई पठाइरहेका छन् । अन्य देशमा म्यानपावरमार्फत युवा रोजगारीका लागि जाने गरेका छन् ।
श्रम सम्झौता भएमध्ये सबैभन्दा धेरै युएईको रोजगारीमा आकर्षण छ । ०८१/८२ मा आठ लाख ३९ हजार युवा वैदेशिक रोजगारीका लागि जाँदा युएईमा मात्रै दुई लाख ७४ हजार ५९० जना गएको विभागले जनाएको छ । त्यस्तै, कतारमा एक लाख ४० हजार ७९२, कोरिया १४ हजार २२४, बहराइन ११ हजार ६२४, जोर्डन दुई हजार ५२, मलेसिया ४९ हजार १८७ र जापान २३ हजार ७१ जना पुगेको विभागले जनाएको छ । सोही वर्ष मौरिससमा पाँच हजार ७४०, इजरायलमा १३ सय ४२, बेलायतमा एक हजार २८९, रोमानियामा २७ हजार ८७४ र जर्मनीमा २२८ नेपाली वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।
साउदी र ओमानसँग पनि श्रम सम्झौता हुँदै
१३ भदौको मन्त्रिपरिषद् बैठकले साउदीसँग श्रम सम्झौता गर्न स्वीकृति दिइसकेको छ । आउँदो १२ र १३ माघमा साउदीसँग श्रम सम्झौता हुन लागेको श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । ‘साउदीसँग श्रम सम्झौताका लागि एजेन्डा तयारी गर्ने काम भइरहेको छ, मन्त्रीस्तरमा सम्झौता हुनेछ,’ उनले भने । मन्त्रालयको एक टोली साउदी पुगेर सम्झौता गर्ने उनले बताए ।
कात्तिक र मंसिरमा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै युवा साउदी गएको तथ्यांक छ । विभागका अनुसार कात्तिकमा १५ हजार ७६९ र मंसिरमा १४ हजार ३३९ युवा साउदी गएका थिए ।
त्यस्तै, ओमानसँग पनि श्रम सम्झौता गर्न २१ पुसको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । युवाले रोज्ने १० देशभित्रको सूचीमा ओमान पर्दै आएको छ । गत आवमा कुल आठ हजार ६०१ जना ओमान पुगेको तथ्यांक छ । ‘यी दुई देशसँग हस्ताक्षर भएपछि श्रम सम्झौता हुने मुलुकको संख्या १४ हुनेछ,’ उनले भने ।
बढ्दो रेमिट्यान्सले विदेशी मुद्रा प्राप्तिमा योगदान
०८२/८३ को मंसिर मसान्तसम्म रेमिट्यान्स ३५.६ प्रतिशतले बढेर आठ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ । कात्तिकसम्म ६ खर्ब ८७ अर्ब १३ करोड रेमिट्यान्स भित्रिएको थियो । मंसिरमा मात्रै एक खर्ब ८३ अर्ब १८ करोडको रेमिट्यान्स भित्रिएको छ । ०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब रेमिट्यान्स भित्रिएको छ । बढ्दो रेमिट्यान्सले विदेशी मुद्रा सञ्चितिमा पनि निरन्तर योगदान पुगिरहेको राष्ट्र बैंकले जनाएको छ । मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २२ अर्ब १३ करोड डलर छ ।
कोरिया र इजरायल मुख्य आकर्षण
सरकारीस्तरबाट रोजगारीका सबै प्रक्रिया र मापदण्ड लागू भएका दक्षिण कोरिया र इजरायलमा कामदारका रूपमा जान युवामा सबैभन्दा बढी आकर्षण छ । कोरियाको रोजगारीमा सहजीकरण गर्दै आएको श्रम मन्त्रालयअन्तर्गतको इपिएस शाखाका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेर बसेका करिब १५ हजार युवा कोरियाली रोजगारीको पर्खाइमा छन् ।
यस वर्ष थप ५३ सय युवाले भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा बस्न लागेका छन् । गत असोजअघि इपिएस शाखाले ५३ सय युवाका लागि भाषा परीक्षा लिन आवेदन खुलाउँदा एक लाख तीन हजारले परीक्षा दिएका थिए । कोरियाले कृषि, उत्पादन र पानीजहाजमा काम गर्न नेपाली युवा लिँदै आएको छ । जिटुजी प्रक्रियाबाट लिने भएकाले आकर्षक तलब र सुरक्षित कार्यस्थल हुने गरेको छ ।
त्यस्तै, जिटुजी प्रक्रियाबाटै इजरायलको रोजगारीमा जान पनि युवाबिच प्रतिस्पर्धा हुने गरेको छ । इजरायलले कृषि र केयर गिभरका लागि नेपाली युवा लिने गरेको छ । वार्षिक १२ सयहाराहारी युवा इजरायलमा रोजगारीका लागि जाने गरेका छन् । इजरायलसँगको श्रम सम्झौता चाँडै नवीकरण गर्न लागेकाले त्यसवेला रोजगारीका थप क्षेत्रको पहिचान गरिने श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि खुला छन् यी ११० देश
श्रम मन्त्रालयले वैदेशिक रोजगारीका लागि ११० मुलुक खुला गरेको छ । अफगानिस्तान, अल्बेनिया, अल्जेरिया, अर्जेन्टिना, अर्मेनिया, अस्ट्रेलिया, अस्ट्रिया, अजरबैजान, बहराइन, बंगलादेश, बेलारुस, बेल्जियम, बोलेभिया, बोस्निया हर्जगोभिना, ब्राजिल, ब्रुनाई, बुल्गेरिया, क्यानडा, चिली, चीन, कोलम्बिया, कम्बोडिया, कंगो, कोस्टारिका, क्रोएसिया, क्युबा, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, इजिप्ट, इस्टोनिया, फिजी, फिनल्यान्ड, फ्रान्स, जर्मनी, बेलायत र ग्रिस वैदेशिक रोजगारीका लागि खुला गरिएका छन् ।
त्यसैगरी, गुयना, होल्सी, हङकङ, हंगेरी, आइसल्यान्ड, इन्डोनेसिया, इरान, इराक, आयरल्यान्ड, इजरायल, इटाली, जापान, जोर्डन, काजकास्तन, केन्या, कोसोभो, कुवेत, लाओस, लात्भिया, लेबनान, लिबिया, लक्जम्बर्ग, मकाउ, मलेसिया, माल्दिभ्स, माल्टा, मेसेडोनिया, मेक्सिको, माल्डोभा, मंगोलिया, मोरिसस, मोरक्को, मोजाम्बिक, म्यानमार, नेदरल्यान्ड, न्युजिल्यान्ड र निकारागुवामा पनि वैदेशिक रोजगारीमा जान अनुमति प्रदान गरिएको छ ।
मन्त्रालयले श्रम गन्तव्यका लागि खुला गरिएका देशहरूको सूचीमा नाइजेरिया, नर्वे, ओमान, पाकिस्तान, पानामा, पेरु, पोल्यान्ड, पोर्चुगल, कतार, कोरिया, स्लोभाकिया, रोमानिया, रसिया, साइपान, साउदी अरेबिया, सिंगापुर, स्लोभानिया, साउद अफ्रिका, स्पेन, श्रीलंका, स्विडेन, स्विट्जरल्यान्ड, सिचेलिस, तान्जेनिया, थाइल्यान्ड, फिलिपिन्स, ट्युनेसिया, टर्की, युगान्डा, युक्रेन, युएई, अमेरिका, उज्वेकिस्तान, भेनेजुएला, भियतनाम र जिम्बावेसमेत रहेका छन् । इराक र लिबियामा श्रम गन्तव्य खुला गरिए पनि सरकारले कडाइ गरेको छ ।
सरकारले अनुमति नदिएको इथोपिया, सोमालिया र सुडानमा पनि नेपाली
वैदेशिक रोजगारीका लागि सरकारले हालसम मान्यता नदिएका ५२ देशमा नेपाली युवा पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार ०८१/८२ मा श्रम स्वीकृति नलिएर अंगोला, बहमास, बर्माडोस, बेनिन, बर्मुडा, ब्रिटिस भर्जिन आइल्यान्ड, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कुक आइल्यान्ड, कोते डिभोर, डिजिवाँती, डोमिनिकन रिपब्लिक, इक्वेडर, इक्वेडेरियल गुनिया, इथोपिया, फ्रेन्च पोलोसेनिया, ग्याबोन, जर्जिया, घाना, जमैका, लिथुनिया, माडागास्कर, मालावी, माली, मौरीटानिया, पलाउ र पपुवा न्युगिनीसम्म युवा पुगेका छन् ।
त्यसैगरी, पेर्टोरिको, बुल्गेरिया, कंगो, रावन्डा, सेन्ट लुसिया, सेनेगल, सर्बिया, साइटा लियोन, सिन्ट मार्टिन, सोमालिया, सुडान, सुरिनेम, स्वाजिल्यान्ड, ताइवान, ताजिकिस्तान, टिमोर लिस्टे, टोगो, ट्रिनिडाड एन्ड टोबागो, तुर्केमिनिस्तान, ट्रक्स एन्ड काइकोस आइल्यान्ड, उरुग्वे, यमन र जाम्बियामा पनि नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि पुग्ने गरेको विभागले जनाएको छ ।
साभार:नयाँपत्रिका