Connect with us
Kapilvast Forest

नेता–कार्यकर्ता गाउँ पसेपछि सुनसान सिंहदरबार

२०८२, १८ माघ शनिबारमा प्रकाशित

२१ फागुनमा निर्वाचन, अब मात्र ३३ दिन बाँकी । जनतामाझ परीक्षा दिन उम्मेदवारहरू तय भइसकेका छन् । परीक्षाको मिति नजिकिँदै गर्दा उनीहरू गाउँ–गाउँमा पुगिरहेका छन् । राजनीति छिरेपछि गाउँहरू गुलजार बनेका छन् । यता देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भने सुनसान बन्दै छ ।

देशभरका पालिकाबाट काम र गुनासा लिएर आउने जनप्रतिनिधिदेखि राजनीतिक दलका नेता–कार्यकर्ता र सर्वसाधारणसम्मको भिडभाड भइरहने मुकाम हो सिंहदरबार । सरकारदेखि संसद्सम्मका गतिविधि पनि सिंहदरबारको चौघेराभित्रै हुन्छन् । दलहरूका संसदीय दलको कार्यालयदेखि संसद् सचिवालय सिंहदरबारमै छन् । जेन–जी आन्दोलनपछि संसद् सिंहदरबारमै सरेको छ । मंगलबार मात्रै राष्ट्रिय सभाको बैठक सिंहदरबारमै बस्यो । जबैजसो मन्त्रालय सिंहदरबारभित्रै भएकाले उल्लेख्य कर्मचारी पनि यहीँ छन् ।

तर, गाउँ–गाउँ चुनावी ‘हट स्पट’ बन्दै जाँदा सिंहदरबारमा चहलपहल घटेको छ । कांग्रेस, एमाले, नेकपा, रास्वपालगायत पार्टीको संसदीय दलको कार्यालयमा एक–दुई कर्मचारीबाहेक मान्छे भेट्नै मुस्किल छ । अन्य समयमा सिंहदरबारमा बढी चलहपहल हुने ठाउँ हुन् यी । कांग्रेस संसदीय दलको कार्यालयमा कार्यरत एक कर्मचारी देश निर्वाचनमा होमिएकाले अहिले नेता–कार्यकर्ताको उपस्थिति घटेको बताउँछन् । ‘एकाधबाहेक नेता–कार्यकर्ता सिंहदरबारमा आएको देखिँदैन,’ उनले भने, ‘दिनपछि दिन घट्दै छ ।’

राजनीतिक चहलपहल घट्दाको असर कांग्रेस संसदीय दलको कार्यालय आडैमा रहेको फियोना चमेनागृहमा पनि देखिएको छ । सिंहदरबार आउने नेता–कार्यकर्ताको भेटघाट हुने मुकाम नै बनेको यो चमेनागृह अहिले सुनसानजस्तै बनेको चमेनागृहका कर्मचारी राजाराम श्रेष्ठ बताउँछन् । ‘अहिले नेता–कार्यकर्ताको आवतजावत शून्यजस्तै छ,’ उनले भने । श्रेष्ठका अनुसार आफ्नो चमेनागृहमा आउने अधिकांश ग्राहक काठमाडौंबाहिरबाट सिंहदरबार आउनेहरू नै हुन् । अहिले कारोबार घटेको उनले बताए ।

यस्तै अवस्था छ सिंहदरबारकै सबैभन्दा ठुलो चमेनागृह ‘सेन्ट्रल क्यान्टिन’मा । सिंहदरबारभित्रै काम गर्ने अधिकांश कर्मचारी जाने भएकाले केही चहलपहल देखिए पनि पहिलाजस्तो छैन । बाहिरबाट आउने नेता–कार्यकर्ता नभएका कारण कारोबार स्वात्तै घटेको क्यान्टिनका एक कर्मचारीले बताए ।

अहिले निर्वाचन आचारसंहिताका कारण महत्वपूर्ण सरकारी निर्णय गर्न नपाइने अवस्था छ । महत्वपूर्ण निर्णय गर्न रोक भएकाले नियमित प्रशासनिक गतिविधि मात्रै हुन्छ सिंहदबारमा । त्यसैले जिल्ला–जिल्लाबाट आउने प्रशासनिक कामको चाप पनि ह्वात्तै घटेको छ । रिक्त प्रमुख प्रशासकीय अधिकृत माग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लाग्ने स्थानीय तहका अध्यक्ष–उपाध्यक्षहरूको भिडभाड पनि कम भएको छ । सरुवालगायतको गतिविधि रोकिएकाले त्यसका लागि पनि कर्मचारी मन्त्रालय आउन छाडेका छन् ।

अब झनै सुनसान हुनेछ सिंहदरबार । किनभने सरकारले निर्वाचनमा ठुलो संख्याका कर्मचारी खटाउँदै छ । निर्वाचन आयोगले चुनावका लागि दुई लाख १३ हजारभन्दा बढी कर्मचारी खटाउने तयारीअनुसार खटनपटन सुरु गरिसकेको छ । मन्त्रालयहरूमा कार्यरत र बरन्डामा रहेकालगायत कर्मचारीलाई निर्वाचनमा खटाइँदै छ । त्यसैले कर्मचारीको उपस्थिति पनि पातलिएको छ सिंहदरबारमा ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी विवेक घिमिरे निर्वाचन आचारसंहिता लागेयता मन्त्रालयका कर्मचारीबाहेक राजनीतिक व्यक्ति र बाहिरी कर्मचारीहरूको आउजाउ कम भएको बताउँछन् । ‘प्रमुख प्रशासकीय अधिकृत माग्दै आउने स्थानीय तहका अध्यक्ष–उपाध्यक्षहरू र अन्य राजनीतिक व्यक्तिहरू मन्त्रालयमा देखिनुभएको छैन,’ उनले भने, ‘निर्वाचन आचारसंहिताले नियमितबाहेकका निर्णय गर्न रोक लगाएको र स्थानीय तहका जनप्रतिनिधिहरूको चासो पनि सम्बन्धित क्षेत्रको चुनावी राजनीतिक गतिविधिमा केन्द्रित भएकाले उपस्थिति नभएको हो ।’ सरुवाका लागि कर्मचारीहरू मन्त्रालय धाउने गरेकामा निर्वाचन आचारसंहिताले रोकेको र सरुवा गर्नैपरे निर्वाचन आयोगको सहमति लिएर गर्नुपर्ने अवस्थाका कारण कर्मचारीको आवागमन पनि पातलिएको सूचना अधिकारी घिमिरे बताउँछन् ।

सामान्य प्रशासन मन्त्रालयमा मात्र होइन, अन्य मन्त्रालयमा पनि राजनीतिक व्यक्तिहरूको आवतजावत कम छ । योजना, बजेट, विभिन्न खालका सहमति, स्वीकृति माग्न अर्थ मन्त्रालय, योजना आयोग, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जालगायत मन्त्रालयमा मानिसहरू आउने क्रम पनि घटेर गएको छ ।

गैरदलीय सरकार हुँदा दलका नेता–कार्यकर्ताको सिंहदरबारसँगको साइनो कमजोर 
२३ र २४ भदौको जेन–जी विद्रोहपछि उत्पन्न नयाँ राजनीतिक परिस्थिति र चुनावी सरकार गठनसँगै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा राजनीतिक दलका नेता–कार्यकर्ताको आवतजावत पातलो भएको थियो । दलीय सरकार नहुँदा र संसद्समेत विघटन भएको अवस्थामा दलका नेता–कार्यकर्ताको सिंहदरबारसँगको साइनो कमजोर देखिन्थ्यो । यस्तोमा २१ फागुनका लागि निर्वाचनको वातावरण बन्दै गएपछि सिंहदरबार जाने–आउने दलका नेता–कार्यकर्ता क्रमश: राजनीतिक कार्यक्रममा सहभागी हुन थाले र जिल्ला वा आफ्नो क्षेत्रतिर लागे । जिल्लाबाट पनि नेता–कार्यकर्ताको काठमाडौं आउनेक्रम पनि कम भयो ।

जब समानुपातिक हुँदै प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएपछि त सम्पूर्ण नेता–कार्यकर्ता चुनावी काममा खट्न थाले, जसले सिंहदरबारभित्रको राजनीतिक चहलपहल ह्वात्तै घटायो । अहिले सिंहदरबारमा दलका संसदीय दलका कार्यालयदेखि क्यान्टिनसम्म सुनसान देखिन्छन् । बिहीबार नयाँ पत्रिकाकर्मी सिंहदरबार पस्दा नेता–कार्यकर्ता र सर्वसाधारणसम्मको भिडभाड देखिएन । चुनावी सरकारका कारण नयाँ योजना र काम केही नहुँदा कर्मचारी पनि फुर्सदिला बनेका छन् । कतिपय कर्मचारी चुनावी काममा छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu