Connect with us
Kapilvast Forest

१,१४३ स्वतन्त्र उम्मेदवारका ८३ चुनाव चिह्न

२०८२, १८ माघ शनिबारमा प्रकाशित

अनारदेखि ह्विलचेयरसम्म र कंगारुदेखि क्याल्कुलेटरसम्म । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न आफैँमा एउटा प्रदर्शनीजस्तै बनेका छन् । कसैले आँप, कैँची र क्यामरा रोजेका छन्, कसैको नजर बँदेल, पान्डा र भँगेरो परेको छ । अनौठा एवं दैनिकीसँग जोडिएका र प्रतीकात्मक चिह्नहरूले मतपत्रलाई रंगीन मात्र बनाएको छैन, स्वतन्त्र उम्मेदवारको विविध सोच, पहिचान र राजनीतिक आकांक्षा पनि रोचक ढंगले प्रस्तुत गरेका छन् ।

निर्वाचन आयोगका अनुसार देशभर एक हजार १४३ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । आयोगले उनीहरूका लागि ८४ फरक–फरक चिह्न उपलब्ध गराएको थियो । तिनैमध्ये उम्मेदवारले आफूलाई मन परेका चिह्न छानेका हुन् ।

आयोगका अनुसार त्यसमध्ये अनार चिह्न ६ जनाले लिएका छन् । आँखीझ्याल १५, आँप ६४, आरी १३, आसकोट १०, इस्त्री एक, उँट चार, कंगारु तीन, कप र प्लेट ३२, काउली १५, केबलकार १८, केराको काइँयो नौ, कैँची ६१, क्याप ३८, क्यामरा ५७, क्याल्कुलेटर २४, खसीको टाउको पाँच, खाम आठ, गमबुट चार, गुलेली चार, ग्यास चुलो आठ, चुलेसी चिह्न दुईजनाले लिएका छन् ।

यसैगरी, चेसगोटी ३५, जाली दुई, जिप ४५, जुवा चार, ज्याबेल दुई, झोला ३१, झ्याली तीन, टायर आठ, टी टेबुल १०, ट्रफी २७, ठेकी १०, डस्टबिन आठ, ड्रम सेट दुई, ढिकी ११, तिलहरी १४, त्रिभुज ४०, दूरबिन २८, नटबोल्ट चार, नरिवल १२, नेलकटर एक, पंखा २५, पन्चिङ मेसिन दुई, पान्डा ६, पानीको जार ११, पानीको फिल्टर तीन, पेट्रोलपम्प १२, पेन्चिस पाँच, प्रेसरकुकर २८, फर्सी सात, फिरफिरे ११, बकुल्लो दुई, बँदेल तीन, बाकस १२, बिरालो दुई, बेलना र चक्ला दुई, भँगेरा ३०, भ्यागुता एक, मसी चिह्न २२ जनाले लिएका छन् ।

त्यस्तै, मानापाथी पाँच, मुढा ५६, मुसो चार, रिक्सा २१, ब्याडमिन्टन कर्क २९, शंखेकिरा एक, सारंगी १२, सिरिन्ज ३८, सिलौटो एक, सेफ्टी पिन तीन, सेलरोटी सात, सोफा सात, स्टाप्लर तीन, स्टुल २०, स्प्रे ६, हजारी पाँच, हटकेस दुई, हातेपंखा तीन, हार्मोनियम सात, हेडफोन दुई, हेल्मेट २६, ह्यांगर एक र ह्विलचेयर चिह्न दुईजना स्वतन्त्र उम्मेदवारले लिएका छन् ।

निवर्तमान शिक्षामन्त्री महावीर पुन (त्रिभुज) म्याग्दी, पत्रकार दिवाकर साह (आँप) धनुषा ३, पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौला (पंखा) झापा २, माओवादीकी पूर्वसांसद उमरावतीदेवी साह (नरिवल) बारा ३ लगायत स्वतन्त्र रूपमा उम्मेदवार बनेका छन् ।

दलहरूको चुनाव चिह्न 
आगामी प्रतिनिधिसभा निर्वाचनमा कुल ६८ दलले ६४ चुनाव चिह्नमा उम्मेदवारी दिएका छन् । प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिन १०७ चिह्नमा ११४ दल दर्ता भएकोमा ६८ दलले ६४ चिह्नमा उम्मेदवारी दिएका हुन् ।

जसमा आम जनता पार्टी मोबाइल, इतिहासिक जनता पार्टी, उज्यालो नेपाल पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, गान्धीवादी पार्टी नेपाल, जनअधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, जनादेश पार्टी नेपाल, जय मातृभूमि पार्टी, त्रिमूल नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल, नागरिक सर्वोच्चता पार्टी नेपाल, एमाले, नेकपा मार्क्सवादी, नेकपा संयुक्त, नेकपा मार्क्सवादी पुष्पलाल, नेकपा माओवादी, नेपाल जनता पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल जनसेवा पार्टी, नेमकिपा, नेपाल मातृभूमि पार्टी, नेपाल मानवतावादी पार्टी रहेका छन् ।

यसैगरी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेपाली जनता दल, नेपाली जनश्रमदान संस्कृति पार्टी, नेसनल रिपब्लिक नेपाल, पिपुल फस्र्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन एकता पार्टी नेपाल, बहुजन शक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, मितेरी पार्टी नेपाल, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टी, राष्ट्र निर्माण दल नेपाल, राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल, राष्ट्रिय एकता दल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमत पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, राष्ट्रिय साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, समावेशी समाजवादी पार्टी, सार्वभौम नागरिक पार्टी, स्वाभिमान पार्टी रहेका छन् ।

चिह्न पाउने प्रक्रिया 
निर्वाचन आयोगका अनुसार नयाँ दल दर्ता गर्दा चिह्न, झन्डा र लोगो प्रस्ताव गरिन्छ । आयोगले संविधान, कानुनबमोजिम छ कि छैन भनेर हेर्छ । त्यसपछि स्वीकृत वा अस्वीकृत हुन्छ । ‘दलको प्रमाणपत्र पाउन दर्ता गर्दा चिह्न, झन्डा, लोगो तय हुन्छ । त्यतिखेर लिएको चिह्न नै दलको चिह्न हुन्छ,’ सूचना अधिकारी घिमिरे भन्छन्, ‘संविधानमा लेखिएको, कानुनमा लेखिएको भावनाविपरीत हुने चिह्नहरू दलले माग्यो भने आयोगले रिजेक्ट गर्छ । अर्काे ल्याउन पत्राचार गर्छ ।’ घिमिरेका अनुसार समानुपातिक निर्वाचनतर्फ गत निर्वाचनमा ल्याएको मतपरिणामका आधारमा पहिलो, दोस्रो रोलक्रम निर्धारण गरिन्छ । स्वतन्त्र उम्मेदवारको हकमा १६५ वटै निर्वाचन क्षेत्रमा चिह्न रोज्न दिइन्छ । मनोनयनका प्राथमिकताका आधारमा जसले पहिला चिह्न रोज्छ, उसैले पाउँछ ।

प्रत्यक्षतर्फका मतपत्र छापिँदै 
प्रतिनिधिसभा सदस्यको २१ फागुनमा हुने निर्वाचनका लागि दल र उम्मेदवारलाई चिह्न प्रदान गरिएको छ । चिह्न प्रदान गरेर समानुपातिकतर्फ दुई करोड मतपत्र छापिसकिएको छ भने प्रत्यक्षतर्फ मंगलबारदेखि छपाइ सुरु भएको छ । प्रत्यक्षतर्फ भने १६५ निर्वाचन क्षेत्रकै फरक–फरक डिजाइन बनाउँदै मतपत्र छापिने सूचना अधिकारी घिमिरे बताउँछन् । किनकि हरेक क्षेत्रमा उम्मेदवारको संख्या फरक–फरक छ ।

समानुपातिकतर्फ एउटै निर्वाचन क्षेत्र भएकाले दलहरूलाई प्रदान गरिएको चुनाव चिह्न राखेर एउटै डिजाइनमा मतपत्र छापिएको छ । समानुपातिक प्रणालीमा भाग लिन सयवटा दलले ९३ निर्वाचन चिह्नमा दल दर्ता गरेका थिए । तर, ३७ दलले बन्दसूची पेस गरेनन् । समानुपातिकतर्फ ६३ दलको ५७ निर्वाचन चिह्न छापिएको छ ।

नेपालको चुनावमा विगतदेखि नै दल र उम्मेदवारको चुनाव चिह्न मतपत्रमा राखिँदै आइएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार साक्षर तथा अशिक्षित सबै मतदातालाई सहजै मतदानमा सहभागी गराउन चिह्नमार्फत मतदान गराउँदै आइएको छ । कतिपय देशमा उम्मेदवारकै तस्बिर मतपत्रमा राख्ने अभ्यास भए पनि नेपालमा धेरै उम्मेदवार हुने हुँदा सम्भव नभएकाले चिह्नकै प्रचलन सुरु गरिएको घिमिरे बताउँछन् । ‘मतदानका लागि सबै साक्षर हुँदैनन्, सबै अक्षर पढ्न सक्छ, अक्षर नचिन्न सक्छन् । त्यसैले अशिक्षितले पनि चिह्न बुझ्न सक्छ । कतिपय देशमा त उम्मेदवारकै फोटो राखिन्छ । यहाँ धेरै हुने भएकाले चिह्नको चलन हो । नपढेको मतदाताले पनि सहजै पत्ता लगाउन सक्छ,’ उनी भन्छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu