विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित
आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो ।
शनिबार भएको खेलम टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा १८३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले अर्धशतक बनाउनुभयो । शेखले ४२ बलको सामना गर्दै नटआउट ६६ रन बनाउनुभएको हो । सन्दीप जोराले २६ बलमा ३१ रन जोड्नुभयो भने आशिफ शेखले २५, गुल्सन झा २३ रनमा आउट हुँदा लोकेश बमले १५ र बसिर अहमेदले ९ रन थप्नुभयो । पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा नेपालले १८३ रन बनाएको हो ।
१८४ रन पछ्याएको एमसिएका लागि मुलचन्दनीले सर्वाधिक ४७ रन बनाउनुभयो भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा एमसिएले १३८ रन मात्र बनाउन सक्यो । एमसिएलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट हात पार्नुभयो भने ललित राजवंशी र गुल्सन झाले दुईदुई विकेट लिनुभयो ।

यसअघि शुक्रबार राति भएको पहिलो खेलमा एक सय ४३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको थियो थियो ।उक्त खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अविजित सर्वाधिक ५० रन बनाउनुभएको थियो भने ओपनर कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले १६ रन बनाउनुभएको थियो।
पहिलो अभ्यास खेलमा सुरुमा ब्याटिङ गरेको एमसिएले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । एमसिएका लागि सिद्धार्थ आकरेले सर्वाधिक २८ र परिक्षित वलसंकरले २७ रन बनाउनुभएको थियो ।बलिङमा नेपालका नन्दन यादवले दुई तथा शेर मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र कुशल भुर्तेलले एक एक विकेट लिनुभएको थियो ।
अब विश्वकप अगाडि नेपालले चेन्नईमा फेब्रुअरी ३ मा संयुक्त अरव इमिरेट्स (युएई) र फेब्रुअरी ५ तारिख क्यानडासँग ‘वार्म अप’ खेल खेल्ने छ । भारत र श्रीलंकामा हुने विश्वकपको सुरुवात नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै सुरु गर्ने छ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् ।