गोदावरी मेयर कपको उपाधी लेलेलाई
काठमाडौं –
दोस्रो गोदावरी नगरपालिका वडाब्यापी मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ लेलेले जितेको छ।गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ गोदावरीलाई पेनाल्टिमा ५–३ गोल अन्तरले हराउँदै लेलेले १ लाख नगद र ट्रफि जितेको छ।गत वर्ष वडा नम्बर ६ टिकाभैरबलाई हराएर उपाधि जितेको गोदावरीले उपविजेता बनेसँगै नगद ५० हजार आफ्नो पक्षमा पारेको छ । निर्धारित समयसम्म दुबैतर्फबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टि सुटआउट मार्फत गरिएको थियो।
पेनाल्टिमा गोदावरीका सागर तामाङ, सायर तामाङ र ईश्वर मर्हजनले गोल गरेपनि सुवास गोलेले गोल गर्न सकेनन्। उता लेलेका लागि विपिन मर्हजन, शुसान्त घलान तामाङ , रोहित रमण डंंगोल र सुजन डंगोलले गोल गरेपछि पाँचौँ पेनाल्टि हान्न पुगेका बिक्की मर्हजनले गोल गरेसँगै लेले विजयी बन्यो।आफ्नो पहिलो खेलमा वडा नम्बर १० टाहाखेललाई १–० गोलले हराएको लेलेले क्वार्टरफाइनलमा वडा नम्बर २ विशंखुनारायणलाई समान १ –० गोलले नै पाखा लगाएको हो। यस्तै सेमिफाइनलमा पनि वडा नम्बर १२ ठेचोलाई १–० ले नै हराएर फाइनलमा स्थान बनाएको थियो।
प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई ट्रफि तथा मेडल बाग्मती प्रदेश सभा सदस्य एवं यूवा तथा खेलकुद मन्त्री मीनकृष्ण मर्हजन र नगर प्रमुख गजेन्द्र मर्हजनले वितरण गरे।प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी वडा नम्बर ५ का आयुष श्रेष्ठ भए। आयुष नै उत्कृष्ट गोलकिपर पनि बने। यसैगरी उत्कृष्ट डिफेन्डर वडा नम्बर ३ का सागर तामाङ भए। उत्कृष्ट प्रशिक्षक विजेता टिमका शिवजी सिल्वाल भए । प्रतियोगितामा ईमर्जिङ खेलाडी वडा नम्बर १२ का आर्यन महर्जन भए।
सर्वाधिक गोलकर्ता वडा नम्बर ११ का सुजित श्रेष्ठ र अनिल देशार भए। उनीहरु दुबैले ३–३ गोल गरेका थिए। पहिलो खेल नै हारेपनि उत्कृष्ट खेल प्रर्दशन गरेको वडा नम्बर १० टाहाखेल फेयर प्ले टिम बन्यो।उत्कृष्ट खेलाडीलाई नेपाल प्रहरीका एसएसपी दिलिप घिमीरे , शसस्त्र प्रहरीका एसएसपी विकास घिमीरे, वडा नम्बर ३ का वडा अध्यक्ष राज घिमीरे, नगर प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिल्वाल , वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुमान मर्हजन, वडा नम्बर ९ का वडा अध्यक्ष आत्माराम थापा, वडा नम्बर १३ का वडा अध्यक्ष भाष्कर थापा , नगर खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले पुरस्कार वितरण गरे।
प्रतियोगितामा नगर भित्रका सबै १४ वटै वडा सहभागी थिए। प्रतियोगिताबाट १४ वटै वडाका खेलाडीहरुको प्रर्दशनका आधारमा गोदावरी नगरको सिंगो टिम तयार पारिने नगरप्रमुख गजेन्द्र मर्हजनले जानकारी दिए।उनले आगामी दिनमा यो मैदान फराकिलो बनाएर यसको स्तरउन्नती गरिने बताए। वडा नम्बर १० का वडा अध्यक्ष शेखर न्यौपानेले यस्ता प्रतियोगिताले नगरको प्रतिष्ठा बढेको उल्लेख गरे।
करिब ८ महिनाअघि पनि यही रंगशालाको मैदानमा दोस्रो उपत्यकाब्यापी अन्तरपालिका मेयरकप फुटबल प्रतियोगिता संचालन भएको थियो। सो प्रतियोगितामा गोदावरी नगरपालिकालाई हराउँदै काठमाडौं महानगरपालिकाले लगातार दोस्रोपल्ट मेयर कप फुटबलको उपाधि जितेको थियो।