सामाजिक न्याय र जनजीविकामा केन्द्रित कार्यक्रमलाई घोषणापत्र बनाउने नेकपाको तयारी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सामाजिक न्याय, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यकेन्द्रित घोषणापत्र ल्याउने तयारी गरेको छ । अघिल्लो निर्वाचनमा ल्याइएका महत्वाकांक्षी कार्यक्रम कार्यान्वयन नहुनुबाट पाठ सिक्दै संकुचित, तर व्यावहारिक घोषणापत्र बनाउने नेकपाको तयारी छ । नारायणकाजी श्रेष्ठको नेतृत्वमा मस्यौदा समितिले काम गरिरहेको छ ।
रोजगारी, शिक्षा र स्वास्थ्यमा जोड दिएर घोषणापत्र बनाउने नेताहरूले जनाएका छन् । जनजीविकाको सवाल, जेन–जी आन्दोलनको मर्म र भावनाका साथै कार्यान्वयन गर्न सकिने घोषणापत्र जारी गर्ने नेकपाले जनाएको छ ।
‘सामाजिक न्याय, सुशासन र समृद्धिको विषय मुख्य गरी समेट्नेछौँ । राष्ट्रियता लोकतन्त्र र संविधानको रक्षाको विषय पनि अहिले प्रधान भएको छ,’ नेता अग्नि सापकोटाले भने, ‘जनजीविकाको विषयमा विशेष ध्यान दिनेछौँ । रोजगारी, शिक्षा र स्वास्थ्यको विषय प्राथमिकतामा रहनेछन् ।’