कांग्रेस, एमाले र नेकपालाई रविको चुनौती : खुला मिल वा गोप्य मिल, सुनामी रोकेर देखाऊ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरूले जस्तोसुकै गठबन्धन बनाए पनि त्यससँग लड्न आफू र आफ्नो पार्टी तयार रहेको बताएका छन् । मंगलबार एक सन्देश जारी गर्दै सभापति लामिछानेले पुरानो संसद् फर्काउने चलखेल, दबाब र धम्की नस्विकार्ने स्पष्ट पारेका छन् ।
लामिछानेले २१ फागुन कुनै सामान्य मिति नभई नेपाली इतिहासको माइलस्टोन हुने पनि बताए । गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा रहेको उनको भनाइ छ । ‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ । फागुन २१ पछि आउने संसद्मा प्रतिपक्षीसमेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन,’ उनले भनेका छन्, ‘यत्तिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ । केही थान बिचौलियाहरूको मुट्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ ।’
खुट्टामा चोट लागेर आराममा रहेका लामिछाने मंगलबारबाट सार्वजनिक जीवनमा फर्किएका छन् । उनले अब नेपाली जनताले परिवर्तनको इतिहास सानदार उत्सवका रूपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्ने पनि उल्लेख गरेका छन् । ‘अपदस्त दुईतिहाइको सरकारले जबर्जस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरिका अदालतहरू धाउँदा–धाउँदा थाहा छैन, म देशका कति ठाउँमा पुग्न सक्छु, तर मेरो प्रयास बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दै छु घण्टीमा भोट,’ उनले भनेका छन् ।
लामिछानेले दलहरूका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको विष निकाल्न मत मागेको पनि उल्लेख गरेका छन् । ‘एकाध पुल, एकाध भवन र एकाध सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुचि छैन । कुशासनको मुख्यालय भएको सिंहदरबारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रस्ट म्यान्डेटविना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौँअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठुलो वृक्ष बनेको छ । यसपटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन,’ उनले भनेका छन् ।
लामिछानेले निधारमा ताकेर गोली ठोक्नेहरूविरुद्ध क्रान्तिको घण्टी बजिसकेको भन्दै अब अन्तिमपटक क्रान्ति बाँकी रहेको उल्लेख गरेका छन् । ‘म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको वेग रोक्ने हक हामी कसैलाई छैन । यो देशको भविष्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोरभन्दा कठोर तपस्याका लागि विल्कुल तयार छु । मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यसको परबाह छैन । तर, यस देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यही निधारमा ताकेर गोली ठोक्नेहरूविरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ, अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ,’ उनले भनेका छन् ।
लामिछानेले रास्वपाले दस्ताबेजले नीति, विचार र सिद्धान्त स्पष्ट रूपमा भने पनि विचार नभएको भनेर फैलाइएको भ्रमप्रति असन्तुष्टिसमेत व्यक्त गरेका छन् । ‘भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी, भिजनविनाका, नीति सिद्धान्तविनाका भनेर कसैले रोइकराई गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा–दस्ताबेज पढ्ने जाँगर विश्लेषणजीविहरूलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ? विचार, सिद्धान्त, नीति सबै भएका भनिएका तपाईंहरूको नियत, कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस्, नपढाउनुस्,’ उनले भनेका छन् ।
साथै, लामिछानेले जनताको ताकतको बलमा मतपत्रमार्फत हामी सुशासनको घन्टी बजाउँदै नयाँ युगको सुरु गर्न चाहेको उनको भनाइ छ । ‘देश रसातलमा पुग्दा पनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक । भारी शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धिसहितको लोकतन्त्र हामी जोगाउँछौँ, नसके जनता छन् । आआफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ, तर यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका हुन् । तिनै जनताको ताकतको बलमा मतपत्रमार्फत हामी सुशासनको घन्टी बजाउँदै, विकास–कूटनीति र अर्थ– राजनीतिको सानदार युगारम्भ गर्न चाहन्छौँ,’ उनले भनेका छन् ।