Connect with us
Kapilvast Forest

टी–२० आईमा सर्वाधिक रन बनाउने पाँच नेपाली

२०८२, २८ माघ मंगलवारमा प्रकाशित

नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले टी–२० आई क्रिकेटमा दुई हजार रन पूरा गरेका छन् । आइसिसी टी–२० विश्वकपअन्तर्गत आइतबार समूह ‘सी’को खेलमा दीपेन्द्रले इंग्ल्यान्डविरुद्ध ४४ रन जोड्दै टी–२० आईमा दुई हजार रन पूरा गरेका हुन् । उनी यो सफलता चुम्ने नेपालका पहिलो ब्याट्सम्यान हुन् । सन् २०१४ मा नेपालले पहिलोपटक टी–२० आई खेलेको थियो । टी–२० खेल्ने पहिलो पुस्ताका नेपाली खेलाडीमध्ये पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ४५ खेलमा आठ सय ८३ रन जोडेका छन् । पारस खड्का, ज्ञानेन्द्र, शरद भेसवाकर तथा शक्ति गौचनको पुस्तापछिका पाँच खेलाडीले टी–२० आईमा एक हजारदेखि दुई हजार रन बनाएका छन् ।

१. दीपेन्द्रसिंह ऐरी : खेल ९१, इनिङ्स ७९, रन २ हजार, १ शतक, १० अर्धशतक
मुम्बईको वानखेडे रंगशालामा दुईपटकको च्याम्पियन इंग्यान्डविरुद्ध ४४ रन बनाउँदै दीपेन्द्रले दुई हजार रन पूरा गरेका हुन् । उनले ९१ खेलमा ७९ इनिङ्समा यो सफलता चुमेका हुन् । टी–२० आई इतिहासमा उनको नाममा केवल नौ बलमा अर्धशतकीय इनिङ्सको विश्व रेकर्ड छ । जुन अहिलेसम्म उनको रेकर्ड कसैले पनि तोड्न सकेका छैनन् । उनले सन् २०२३ मा १९औँ एसियन गेम्समा मंगोलियाविरुद्ध रेकर्ड बनाएका थिए । उनले ३४ टी–२० आईमा एक हजार रन जोडेका थिए । सन् २०२२ मा उनले त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध शतकीय इनिङ्स खेलेका थिए । उनले मलेसियाविरुद्ध ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे ।

सन् २०१८ मा दीपेन्द्रले नेदरल्यान्ड्सविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । वर्षाका कारण खेल रद्द भएको प्रतिस्पर्धामा नेपालले ब्याटिङ गर्ने अवसर पाएन । दीपेन्द्रले ६८ एकदिवसीय खेलमा एक हजार दुई सय ४१ रन बनाएका छन् । उनी ५० ओभरको खेलमा नेपालका लागि सर्वाधिक रन बनाउनेमा पाँचाैँ स्थानमा छन् । दीपेन्द्रले टी–२० आईमा ६० विकेट पनि लिएका छन् । नेपालबाट टी–२० आईमा धेरै विकेट लिने उनी पाँचाैँ बलर हुन् ।

२. कुशल भुर्तेल : खेल ७१, इनिङ्स ६९, रन १८३६, शतक १, अर्धशतक १३
नेपालका लागि टी–२० आईमा दोस्रो सर्वाधिक व्यक्तिगत रन जोड्ने ब्याट्सम्यान भुर्तेल हुन् । उनले ७१ टी–२० आईमा एक शतक तथा ११ अर्धशतकको सहयोगमा एक हजार आठ सय ३६ रन जोडेका छन् । उनले १०औँ संस्करणको टी–२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्ध २७ रन बनाए । उनले सन् २०२१/०२२ को सिजनमा एक शतकीय इनिङ्स खेले । उनले एसियाली भूमिमा ५७ खेलमा एक हजार चार सय ८६ रन बनाएका छन् । यसैगरी, अमेरिकाको भूमिमा १० टी–२० आईमा दुई सय १७ रन जोडेका छन् । युरोपियन मैदानमा भुर्तेलले चार खेलमा एक सय ३३ रन बटुलेका छन् । उनले सबैभन्दा बढी रन नेदरल्यान्ड्सविरुद्ध प्रहार गरेका छन् । नेदरल्यान्ड्सविरुद्धको नौ खेलमा उनले तीन सय ३९ रन जोडेका छन् । त्यसपछि ओमानविरुद्ध उनले सात खेलमा दुई सय १९ रन बटुले । सन् २०२५ को सिजनमा उनको ब्याटबाट पाँच सय नौ रन निस्केको थियो । उनले सन् २०२१ मा त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए ।

३. रोहित पौडेल : खेल ७७, इनिङ्स ७३, रन १६७६, अर्धशतक ८
नेपालका कप्तान रोहितले एकदिवसीय फर्म्याटमा दुई हजार रन पूरा गरिसकेका छन् । यो सफलता चुम्ने पहिलो नेपाली खेलाडी हुन् । उनले टी–२० आई फर्म्याटमा भने एक हजार ६ सय ७६ रन जोडेका छन् ।

नेपालका लागि टी–२० आई इतिहासमा धेरै व्यक्तिगत रन बनाउने उनी तेस्रो ब्याट्सम्यान हुन् । उनले आफ्नो करिअरमा आठपटक अर्धशतकीय इनिङ्स खेलेका छन् । रोहितले एसियाली भूमिमा ५८ खेलमा सर्वाधिक एक हजार दुई सय ३१ रन बनाएका छन् । अमेरिकाको भूमिमा उनले १० खेलमा दुई सय दुई रन जोडेका छन् । उनले अमेरिकामा एक र एसियाली भूमिमा आठ अर्धशतक लगाएका छन् । घरेलु मैदानमा उनले २३ टी–२० आईमा ६ सय ३१ रन, अवेमा तीन सय ६२ रन तथा तटस्थ भूमिमा ६ सय ८३ रन जोडेका छन् । उनले त्रिवि क्रिकेट मैदानमा चार अर्धशतकीय इनिङ्स खेलेका छन् । रोहितले सन् २०१९ मा युएईविरुद्ध डेब्यु गरेका थिए ।

४. आसिफ शेख : खेल ६९,  इनिङ्स ६८, रन १६४६, अर्धशतक १०
नेपालका लागि टी–२० आईमा चौथो धेरै रन बनाउने आसिफ हुन् । उनले ६७ इनिङ्समा आठ अर्धशतकीय योगदानको सहयोगमा एक हजार ६ सय ४६ रन जोडेका छन् । सन् २०२१ मा उनले नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए । आसिफले सन् २०२१ देखि ०२५ सम्म एसियाली भूमिमा प्रतिस्पर्धा गर्दा नौ शतकको सहयोगमा एक हजार तीन सय ७९ रन बटुलेका छन् ।

अमेरिकन भूमिमा उनले १० खेलमा दुई सय २२ रन जोडेका छन् । यसैगरी, अफ्रिकी भूमिमा उनले दुई खेलमा प्रतिस्पर्धा गर्दा २४ रन मात्र बनाएका थिए । घरेलु मैदानमा उनले २५ खेलमा सात सय २३ रन तथा अवेमा १३ खेलमा दुई सय नौ रन जोडेका थिए । उनले तटस्थ भूमिमा ३१ खेलमा सात सय १४ रन जोडे । सन् २०२४ को सिजनमा उनी उत्कृष्ट फर्ममा थिए । यस सिजनमा उनले २१ खेलमा चार सय ५७ रन जोडेका थिए । यसैगरी, सन् २०२५ मा उनले १४ खेलमा तीन सय ९४ रन बटुले । गत सिजनमा उनले चार अर्धशतकीय इनिङ्स खेल्न सफल भए ।

५. कुशल मल्ल : खेल ५९ ,  इनिङ्स ५३, रन १००३, शतक १, अर्धशतक ४
चालू विश्वकपमा मल्लले टोलीमा स्थान बनाउन सकेनन् । दोस्रो नेपाल प्रिमियर लिगमा खराब फर्ममा रहँदा उनले विश्वकपका लागि घोषित प्रारम्भिक टोलीमा समेत स्थान रक्षा गर्न सकेनन् । यद्यपि, लगातार दोस्रोपटक विश्वकप खेल खेल्नबाट वञ्चित भए पनि उनी नेपालको टी–२० आईमा पाँचाैँ धेरै रन बनाउने खेलाडीमा पर्छन् । उनले सन् २०१९ मा सिंगापुरविरुद्ध डेब्यु गरेका थिए । डेब्यु गर्दा उनको उमेर १५ वर्ष मात्र थियो । उनले सन् २०२३ मा एसियन गेम्समा मंगोलियाविरुद्ध केवल ५० बलमा एक सय ३७ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले टी–२० आईमा चार अर्धशतक बनाएका छन् । गत अक्टोबरयता उनी राष्ट्रिय टोलीमा छैनन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu