एसइई परिक्षा सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी
काठमाडौ। आजदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक महिनाभित्रै सार्वजनिक हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले यसको तयारी गरिरहेको छ । यसअघि परीक्षा सकिएको सामान्यतया तीन महिनाभित्र नतिजा प्रकाशन हुँदै आएको थियो ।
गत वर्ष चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसइईको नतिजा तीन महिनापछि अर्थात् असार १३ गते सार्वजनिक भएको थियो ।
त्यतिबेला पनि एसइई सकिनेबित्तिकै शिक्षक आन्दोलनका कारण एक महिनापछि मात्रै उत्तरपुस्तिका परीक्षण सुरु भएको थियो । त्यतिबेला पनि तीन महिनामै नतिजा सार्वजनिक भएको देखिए पनि नतिजा प्रकाशनसँग सम्बन्धित काम भने दुई महिना मात्रै भएको थियो । यस पटक भने एक महिनाभित्रै नतिजा सार्वजनिक गरिने छ ।
बोर्डका अनुसार परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी हुने भएका छन् । बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षामा दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र सहभागी हुँदै छन् ।
परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएको छ ।