सिद्धार्थ गौतम बुद्ध गुम्बाको दुई कोठे भवन उद्घाटन
न्युजसेन्टर नेपाल,
कपिलवस्तु नगरपालिका वडा नं. ३ डेरवा स्थित सिद्धार्थ गौतम बुद्ध गुम्बा प्राथमिक विद्यालयमा दुई कोठे भवनको उद्घाटन तथा विद्यार्थीलाई स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल चाइना फ्रेन्डसिप फोरम काठमाडौं र एसिया अफ्रिका महिला सशक्तिकरण तथा विकास समाजको सहयोगमा विद्यालयको दोस्रो तलामा निर्माण गरिएको दुई कोठे भवनको उद्घाटन गरिएको हो। भवनसँगै छात्राछात्रका लागि छुट्टाछुट्टै शौचालय समेत निर्माण गरिएको छ।

स्टिमेट अनुसार करिब ७५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, नेपाल चाइना फ्रेन्डसिप फोरम काठमाडौंका अध्यक्ष डा. कल्याण राज शर्मा, एसिया अफ्रिका महिला सशक्तिकरण तथा विकास समाजकी अध्यक्ष डा. झ्याउ मेलिङ (Dr. Zhao Meling), वडा अध्यक्ष प्रकाश गैरे लगायतको टोलीले संयुक्त रूपमा गरेका हुन् ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत ९७ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्नुका साथै २० वटा डेक्स बेन्च समेत हस्तान्तरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक शारदा आचार्य अर्यालले सहयोगी संस्थाहरूको निरन्तर सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार हुँदै गएको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गैरेले भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
