Connect with us
Kapilvast Forest

प्रधानाध्यापक चौधरीले किर्ते गरेपछी छानबिनको माग

२०८३, २२ जेष्ठ शुक्रबारमा प्रकाशित

न्युजसेन्टर नेपाल- कपिलवस्तु नगरपालिका–१२ स्थित  आधारभूत विद्यालय पिपरहवाको विद्यालय व्यवस्थापन समिति (विव्यस) को निर्णयमा हेरफेर तथा किर्ते गरिएको आरोप लागेको छ।

विद्यालय व्यवस्थापन समितिका एक सदस्यले विद्यालयका प्रधानाध्यापक लीलामणि प्रसाद चौधरीले समितिको आधिकारिक निर्णयमा केरमेट, काटछाँट र हेरफेर गरेको आरोप लगाउँदै सम्बन्धित निकायमा उजुरी दिएका छन्।

उनका अनुसार २०८१ भदौ २६ गते इन्सान अली धुनियाको अध्यक्षतामा बसेको पहिलो बैठकले रामप्रकाश तेली र नेमा कहारलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णयप्रति असहमति जनाउँदै रामप्रकाश तेलीले आफू खुला सदस्यमा बस्नुपर्ने माग गरेका थिए।

त्यसपछि सोही दिन गोवर्द्धन प्रसाद तेली र रामप्रकाश तेलीबीच सहमति भएपछि गोवर्द्धन प्रसाद तेलीको अध्यक्षतामा अर्को बैठक बसेको र खुला सदस्यमा रामप्रकाश तेली तथा मनोनित सदस्यमा गोवर्द्धन प्रसाद तेलीलाई चयन गर्ने निर्णय गरिएको निवेदनमा उल्लेख छ।


उजुरीमा शिक्षा ऐन संशोधन भएपछि प्रधानाध्यापक चौधरीले गोवर्द्धन प्रसाद तेलीलाई कायम राख्ने उद्देश्यले निर्णय पुस्तिकामा एकपक्षीय रूपमा हेरफेर गरेको आरोप लगाइएको छ। मूल निर्णयको आशय परिवर्तन हुने गरी केरमेट तथा सच्याउने काम गरिएको दाबी श्रोतको छ।

स्रोतका अनुसार बैठकले अभिभावक भेलामार्फत खुला तथा महिला सदस्य चयन गर्ने र शिक्षाप्रेमी वर्गबाट रामप्रकाश तेलीलाई सदस्य मनोनयन गर्ने निर्णय गरेको थियो। तर पछि निर्णय पुस्तिकामा गरिएको संशोधनले समितिको आधिकारिक निर्णय नै फेरिएको दाबी गरिएको छ।

प्रधानाध्यापकको उक्त कार्य नेपालको संविधान, मुलुकी अपराध संहिता–२०७४, शिक्षा ऐन–२०२८, शिक्षा नियमावली–२०५९ तथा सुशासनसम्बन्धी कानुनी व्यवस्थाविपरीत रहेको व्यवस्थापन समितिका अधिकांश सदस्यको जिकिर छ । सार्वजनिक कागजातमा हेरफेर तथा किर्ते गर्नु दण्डनीय कसुर भएकाले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनीहरुको माग छ।

उजुरीमार्फत २०८१ भदौ २६ गतेको विव्यस निर्णयमाथि छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, कागजात हेरफेर भएको पुष्टि भए प्रधानाध्यापक चौधरीमाथि कानुनी कारबाहीका लागि सिफारिस गर्न तथा मूल निर्णयलाई आधिकारिक मानी कार्यान्वयन गर्न माग गरिएको छ।
उजुरीसँगै निर्णय पुस्तिकाको काटछाँट गरिएको प्रतिलिपि, मूल निर्णयको फोटोकपी तथा नागरिकताको प्रतिलिपिसमेत संलग्न गरिएको छ।

संलग्न कागजातअनुसार उक्त बैठकमा गोवर्द्धन प्रसाद तेली, मोहम्मद इरफान मनसुरी, गुडिया रैदास, रामप्रकाश तेलीलगायत सदस्य तथा प्रधानाध्यापक लीलामणि प्रसाद चौधरीको उपस्थिति रहेको देखिन्छ। प्रस्ताव नम्बर १ अन्तर्गत सदस्य चयन तथा मनोनयनसम्बन्धी निर्णय उल्लेख गरिएको र त्यसमा केरमेट तथा सच्याइएको भाग स्पष्ट देखिने दाबी निवेदकको छ।

यता, आरोपबारे प्रतिक्रिया लिन खोज्दा प्रधानाध्यापक चौधरीसँग सम्पर्क हुन सकेन। घटनाबारे सम्बन्धित निकायले गर्ने छानबिनपछि मात्र वास्तविकता खुल्ने देखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu