कपिलवस्तुको विजयनगरमा मनलाग्दी: १ करोड १९ लाख बढी इन्धनमा खर्च
न्युजसेन्टर नेपाल-
कपिलवस्तुको विजयनगर गाउँपालिकामा इन्धन खर्च अस्वाभाविक रूपमा बढेको तथ्य सार्वजनिक भएको छ ।
कर्मचारी र जनप्रतिनिधिले नै पालिकमा अत्याधिक इन्धन खपत गरेपछि गाउँपालिका नेतृत्व र कर्मचारी माथि गम्भीर प्रश्न उब्जिएको छ । कर्मचारी र जनप्रतिनिधिले मनलाग्दी इन्धनमा खर्च गरेको पाइएको हो ।
गाउँपालिकाबाट प्राप्त विवरणअनुसार २०७९ सालको स्थानीय निर्वाचनपछि २०८३ वैशाख मसान्तसम्म जनप्रतिनिधि र कर्मचारीहरूले इन्धनमा मात्रै १ करोड १९ लाख ६ हजार ९२ रुपैयाँ खर्च गरेको देखिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ७ सय ९३ लिटर इन्धन खपत भई ४३ लाख ५९ हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । त्यसैगरी २०८१/८२ मा २१ हजार २ सय २५ लिटर इन्धन प्रयोग भई करिब ३८ लाख २० हजार रुपैयाँ खर्च भएको तथ्यांक छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म मात्रै १६ हजार ६ सय ६ लिटर इन्धन प्रयोग भएको देखिन्छ, जसको मूल्य करिब ३७ लाख रुपैयाँभन्दा बढी रहेको विवरण सार्वजनिक भएको छ ।
तर सबैभन्दा विवादास्पद पक्ष भने इन्धन वितरण प्रणाली रहेको बताइन्छ । गाउँपालिकाका एक कर्मचारीले नाम नखुलाउने सर्तमा आरोप लगाउँदै भने, “अध्यक्षज्यू र हाकिम साबको निर्देशन अनुसार कुपन जति चाहियो त्यति वितरण हुन्थ्यो, नियन्त्रण थिएन, जसले गर्दा इन्धन खर्च अस्वाभाविक रूपमा बढ्यो ।”
यसैबीच, अध्यक्ष गोपाल बहादुर थापाको कार्यशैली र इन्धन वितरण प्रणालीबारे पारदर्शिताको प्रश्न उठ्दै आएको छ ।
स्थानीय तहमा मापदण्डभन्दा बाहिर गएर कुपन वितरण भएको हो कि होइन भन्ने विषयमा स्पष्टता नआउँदा शंका अझै गहिरिँदै गएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमलाल विश्वकर्माले पनि आफू नजिकका कर्मचारीलाई अनावश्यक रुपमा कुपन दिएको एक वडा सचिवले बताए ।
जो कर्मचारीले हाकिमको चाकरी गर्छन तिनैले जति पनि कुपन पाउने गरेको कर्मचारीले बताएका छन । केही कर्मचारीले कुपन लिने पेट्रोल पम्पमा गएर इन्धनको सट्टामा नगद लिने गरेको स्विकार गरेका छन ।
पालिकामा रहेका इलेक्ट्रिक स्कुटी साइकल र भारतीय नम्बरका प्लेट प्रयोग गर्ने कर्मचारीहरूले समेत इन्धन लिने गरेका छन । साइकल चढ्ने कर्मचारीलाई समेत अनावश्यक कुपन दिने गरेको खुलेको छ ।
कृषि, पशु शाखाका कर्मचारीहरूले भारतीय नम्बर प्लेट प्रयोग गरि इन्धन लिदै आएका स्विकार गरेका छन ।
स्थानीयवासीले भने सार्वजनिक स्रोतको यस्तो प्रयोगबारे छानबिन समिति गठन गर्न माग गरेका छन् ।
उनीहरूका अनुसार इन्धन प्रयोगको लगबुक, स्वीकृति प्रक्रिया र कुपन प्रणाली सार्वजनिक नभएसम्म वास्तविक अवस्था स्पष्ट हुँदैन ।
यता गाउँपालिका अध्यक्ष गोपाल थापाको प्रतिक्रिया लिन खोजिए पनि ९८५७०५५१०३ सम्पर्क हुन सकेन ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमलाल विश्वकर्माले इन्धनको विषयमा कुनै प्रतिक्रिया दिन मन्नु भएन ।
सूचनाको हक प्रयोग गरी माग गरिएको सूचनामा पालिकाले धेरै सूचना लुकाएर संक्षिप्त सूचना मात्रै उपलब्ध गराएको हो । सोही सूचनाको आधारमा न्युजसेन्टर नेपालको सम्पादक टोलीले यो समाचार तयार गरेको हो ।
