घरेलु उद्योग महासंघको अध्यक्षमा शोभा गुरुङ, नयाँ कार्यसमिति चयन
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा शोभा गुरुङ निर्वाचित भएकी छन् ।
महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि महासंघकी उपाध्यक्ष तथा केन्द्रीय महिला उद्यमी समितिकी अध्यक्ष रहेकी गुरुङ महासंघका विभिन्न जिम्मेवारीमा सक्रिय रहेकी थिइन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद रेग्मी, महासचिवमा विनोद देव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जती, सचिवमा प्रेमबहादुर डीसी तथा सह–कोषाध्यक्षमा हेमविक्रम जीसी चयन भएका छन् ।
त्यसैगरी विभिन्न प्रदेश, वस्तुगत संघ, महिला, सहकारी र नवीकरणीय ऊर्जा समूहबाट सदस्यहरू चयन भएका छन् । केन्द्रीय महिला उद्यमी समितिको अध्यक्षमा रीता अवाल निर्वाचित भएकी छन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङले महासंघको गरिमालाई थप उचाइमा पुर्याउँदै लघु, घरेलु तथा साना उद्योगीहरूको हकहित, संगठन विस्तार र उद्यमशीलताको विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । महिला उद्यमी समितिकी अध्यक्ष अवालले पनि टिमवर्क, सुशासन, सञ्जाल विस्तार र उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकता दिने बताएकी छन् ।