फिफाका शीर्ष चार टोली नै विश्वकपको सेमिफाइनल भिड्दै
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तिम तथा निर्णायक मोडमा पुगेको छ । कुल ४८ टोलीबाट सुरु भएको यो ऐतिहासिक प्रतियोगितामा अब चार उत्कृष्ट टोलीहरू बाँकी रहेका छन् । आइतबार क्वार्टरफाइनलका खेलहरू सकिएसँगै फ्रान्स, स्पेन, इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
विश्व वरीयताका शीर्ष चार टोली नै अन्तिम चारमा पुग्न सफल भएकाले यस पटकको सेमिफाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आउँदो जुलाई १९ मा हुने फाइनल खेलमा स्थान बनाउनका लागि यी टोलीहरूले अब अन्तिम बाधक पार गर्नुपर्नेछ ।
विश्वकपको पहिलो सेमिफाइनल खेलमा दुई युरोपेली महारथी फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल आगामी बुधबार बिहान १२:४५ बजे डल्लास स्टेडियम, अमेरिकामा हुनेछ ।
दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड भिड्नेछन् । यी दुई टोलीबीचको खेल बिहीबार बिहान १२:४५ बजे एटलान्टा स्टेडियम, अमेरिकामा हुनेछ ।
क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० को गोल अन्तरले सहजै पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । स्पेनले बेल्जियमलाई २-१ को कठिन जित निकाल्दै सेमिफाइनलको टिकट काटेको हाे । त्यस्तै, इंग्ल्यान्डले नर्वेलाई २-१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो भने अर्जेन्टिना स्विट्जरल्यान्डलाई ३-१ को गोल अन्तरले पन्छाउँदै सेमिफाइनलमा पुगेको हो ।
यस पटकको सेमिफाइनलमा विश्व फुटबलका सुपरस्टारहरूको जमघट हुनेछ । फ्रान्सका किलियन एम्बाप्पे यस प्रतियोगितामा उत्कृष्ट लयमा छन्, उनले ६ खेलमा ८ गोल गरेका छन् । उनलाई साथ दिन माइकल ओलिस र ओस्मान डेम्बेले पनि तयार रहनेछन् ।
यता स्पेनका १७ वर्षीय सनसनी लामिन यामल आफ्नो पहिलो विश्वकप सेमिफाइनल खेल्दैछन् र उनी टोलीका लागि मुख्य हतियार साबित हुन सक्छन् । त्यस्तै, स्पेनका मिकेल मेरिनो पछिल्ला दुई खेलमा बेन्चबाट आएर निर्णायक गोल गर्दै ‘सुपर-सब’को रूपमा चिनिएका छन् ।
यस्तै इंग्ल्यान्डका कप्तान ह्यारी केनका साथै युवा स्टार जुड बेलिंघम गोल्डेन बुटको दौडमा छन् । बेलिंघमले ६ गोल गरिसकेका छन् । अर्जेन्टिनाका लागि लेजेन्ड लियोनेल मेस्सी मुख्य खेलाडी हुन् । उनले ६ खेलमा ८ गोल गरिसकेका छन् र उनी अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनलमा पुर्याउन आतुर छन् ।
तथ्यांक प्रदायक संस्था ‘अप्टा’को सुपर कम्प्युटरले गरेको प्रक्षेपण अनुसार, फ्रान्स यस पटकको विश्वकप जित्ने सबैभन्दा बलियो दाबेदार हो । सुपर कम्प्युटरका अनुसार फ्रान्स फाइनलमा पुग्ने सम्भावना ५३ प्रतिशत र उपाधि जित्ने सम्भावना ३३ प्रतिशत रहेको छ । स्पेन २७ प्रतिशत सम्भावनाका साथ दोस्रो स्थानमा छ भने अर्जेन्टिना तेस्रो र इंग्ल्यान्ड चौथो दाबेदारका रूपमा देखिएका छन् ।