Connect with us
Kapilvast Forest

भारत-बेलायत स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू, लक्जरी कारदेखि ह्विस्कीसम्म सस्तो हुने

२०८३, ३१ असार बुधबारमा प्रकाशित

भारत र बेलायतबीचको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) आजदेखि लागू भएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै भारतका ९९ प्रतिशत वस्तु बेलायती बजारमा शून्य भन्सारमा निर्यात हुने छन् भने बेलायतका अधिकांश वस्तु भारतमा औसत ३ प्रतिशत भन्सार दरमा आयात हुनेछन् ।

सम्झौता लागू भएसँगै भारतमा स्कच व्हिस्की, जिन, जगुआर ल्यान्ड रोभर र रोल्स–रोयसजस्ता लक्जरी कार, ब्रान्डेड कपडा, कस्मेटिक्स तथा केही खाद्य वस्तुको मूल्य घट्ने अपेक्षा गरिएको छ ।

स्कच व्हिस्कीमा लाग्ने भन्सार १५० प्रतिशतबाट घटेर ७५ प्रतिशतमा झरेको छ भने आगामी १० वर्षभित्र यसलाई ४० प्रतिशतमा झार्ने योजना छ ।

द्विपक्षीय व्यापार सन् २०३० सम्म दोब्बर भई १२० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

भारतका वाणिज्य मन्त्री पीयूष गोयल र बेलायतका व्यापार मन्त्री जोनाथन रेनोल्ड्सले गत २४ जुलाई २०२५ मा प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किर स्टार्मरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बेलायतकी भारतस्थित उच्चायुक्त लिन्डी क्यामरुनले सामाजिक सञ्जाल एक्समा लेख्दै यो ‘आधुनिक बेलायत–भारत साझेदारीको ऐतिहासिक क्षण’ भएको बताएकी छन् ।

भारतका उद्योगलाई ठूलो फाइदा

सम्झौताबाट भारतीय कपडा, होम टेक्सटाइल, रत्न–आभूषण, छालाजन्य उत्पादन, इन्जिनियरिङ सामग्री, अटो पार्ट्स, औषधि तथा कृषि उत्पादनले ठूलो लाभ लिने अपेक्षा गरिएको छ ।

बेलायतले भारतीय कपडा तथा होम टेक्सटाइलमा लगाउँदै आएको ८ देखि १२ प्रतिशत भन्सार हटाएको छ । यसले भारतीय उत्पादनलाई बंगलादेश र भियतनामको तुलनामा थप प्रतिस्पर्धी बनाउने बताइएको छ ।

भारतीय जेनेरिक औषधिको बेलायतमा दर्ता प्रक्रिया सहज हुने भएकाले औषधि निर्यात पनि बढ्ने अनुमान गरिएको छ । बासमती चामल, चिया र मसला निर्यातमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

रोजगारी र लगानी बढ्ने दाबी

भारतीय सरकारले सम्झौताले कपडा र छालाजन्य उद्योगमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने दाबी गरेको छ । करिब ६ करोड सूक्ष्म, साना तथा मझौला उद्योगले नयाँ बजार र राम्रो नाफा पाउने अपेक्षा बताइएको छ ।

बेलायती कम्पनीहरूले सूचना प्रविधि, वित्तीय सेवा, हरित ऊर्जा, सौर्य ऊर्जा, हरित हाइड्रोजन तथा विद्युतीय सवारी पूर्वाधारमा लगानी बढाउने संकेत गरेका छन् ।

भारतको रणनीति पश्चिमतर्फ

भारतले यसअघि यूएई, अष्ट्रेलिया, मौरिसस र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) समूहसँग स्वतन्त्र व्यापार सम्झौता गरिसकेको छ । हाल युरोपेली संघ (ईयू) र अमेरिकासँग पनि यस्तै सम्झौताका लागि वार्ता जारी छ ।

ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ का अनुसार भारतले अब आसियान मुलुक, जापान र कोरियाभन्दा पश्चिमी अर्थतन्त्रसँग व्यापार विस्तारलाई प्राथमिकता दिन थालेको छ ।
विशेषज्ञहरूका अनुसार बेलायतसँगको सम्झौताले भारतीय निर्यातलाई युरोपेली बजारसम्म विस्तार गर्न मद्दत पुर्‍याउनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu