विश्वकप फुटबल उपाधीको लागि स्पेन र अर्जेन्टिनाबीच महाभिडन्त
काठमाडौं । फिफा विश्वकप फुटबलको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच महाभिडन्त हुने भएको छअमेरिकाको न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा हुने फाइनल खेल नेपाली समय अनुसार सोमबार बिहान १२ : ४५ बजेदेखि शुरु हुने छ ।
अर्जेन्टिनासँग लगातार दोस्रो पटक विश्वकप जित्ने अवसर छ । यदि अर्जेन्टिनाले उपाधि जितेमा इटाली १९३४ र १९३८ तथा ब्राजिल १९५८ र १९६२ पछि लगातार दुई संस्करणको विश्वकप जित्ने तेस्रो टोली बन्नेछ। अर्जेन्टिना यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्वविजेता बनेको थियो भने १९३०, १९९० र २०१४ मा उपविजेतामा सीमित भएको थियो ।
स्पेन भने दोस्रो पटक विश्वविजेता बन्ने लक्ष्यमा छ । स्पेनले पहिलो र हालसम्मको एकमात्र विश्वकप उपाधि सन् २०१० मा जितेको थियो । हालको युरोपेली च्याम्पियन स्पेनले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताका ६ फाइनलमध्ये ५ मा जित हात पारेको इतिहास पनि बोकेको छ । यो फाइनल अर्को अर्थमा पनि विशेष छ । पहिलो पटक दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन विश्वकपको फाइनलमा एकअर्काविरुद्ध खेल्दैछन् । साथै, फिफा विश्व वरीयताको पहिलो स्थानमा रहेको अर्जेन्टिना र दोस्रो स्थानमा रहेको स्पेनबीच विश्वकप इतिहासमै पहिलो पटक भेट हुन लागेको हो ।
अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनल खेल्दैछ । जर्मनीले मात्र आठ पटक फाइनल खेलेको छ । यस संस्करणमा अर्जेन्टिनाले सबै सात खेल जितेको छ र उपाधि जितेमा सन् २००२ मा ब्राजिलपछि शतप्रतिशत जितसहित विश्वकप जित्ने पहिलो टोली बन्नेछ ।
यद्यपि स्पेनलाई धेरै विश्लेषकले उपाधिको मुख्य दाबेदार मानेका छन् । तथ्याङ्कीय विश्लेषण गर्ने संस्थाको अनुमानले पनि स्पेनलाई अगाडि राखेको छ । स्पेनले यस प्रतियोगितामा प्रति खेल औसत ०।३१ अपेक्षित गोल अवसर मात्र विपक्षीलाई दिएको छ, जुन प्रतियोगिताकै उत्कृष्ट र सन् १९६६ यताकै संयुक्त रूपमा सबैभन्दा बलियो रक्षात्मक प्रदर्शन हो। स्पेनले हालसम्म ६ खेलमा गोल नखाई जित निकालिसकेको छ ।
स्पेन पछिल्ला ३७ खेलदेखि अपराजित छ । यदि फाइनलमा पनि हार टार्न सफल भयो भने कुनै पनि युरोपेली टोलीको सबैभन्दा लामो अपराजित यात्राको नयाँ कीर्तिमान बन्नेछ ।
अर्जेन्टिना पनि उत्कृष्ट लयमा छ । विश्वकपअघिका सात खेल र यस प्रतियोगिताका सात खेल गरी लगातार १४ खेल जितेको अर्जेन्टिनाले फाइनल जितेमा दक्षिण अमेरिकी टोलीको लगातार १५ जितको नयाँ कीर्तिमान बनाउनेछ ।
यस फाइनलको सबैभन्दा आकर्षक प्रतिस्पर्धा लियोनेल मेसी र लामिन यमालबीच हुने अपेक्षा गरिएको छ । दुवै सुरुआती टोलीमा परे विश्वकप फाइनल इतिहासमै २० वर्षभन्दा बढी उमेर अन्तर भएका दुई खेलाडी पहिलो पटक विपक्षी टोलीबाट सुरुआत गर्नेछन् ।
३९ वर्षीय मेस्सी विश्वकप इतिहासमा तीनवटा फाइनल खेल्ने दोस्रो खेलाडी बन्नेछन्। यसअघि ब्राजिलका काफुले मात्र तीन विश्वकप फाइनल खेलेका थिए। मेस्सी विश्वकप फाइनल खेल्ने सबैभन्दा पाका मैदानी खेलाडी पनि बन्नेछन् । यता १९ वर्षीय यमाल विश्वकप फाइनल खेल्ने इतिहासकै तेस्रो सबैभन्दा कान्छा खेलाडी बन्नेछन् । उनीभन्दा कम उमेरमा केवल ब्राजिलका पेले र इटालीका ज्युसेप्पे बेर्गोमीले मात्र विश्वकप फाइनल खेलेका थिए ।
ड्रिबल सफल पार्ने सूचीमा पनि मेसी र यमाल शीर्ष स्थानमा छन् । मेसीले २५ पटक सफल ड्रिबल गरेका छन् भने यामालले २२ पटक विपक्षीलाई छलाएका छन् । स्पेनका रोड्री पनि उपाधि जितेमा प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्ने प्रमुख दाबेदार मानिएका छन् । उनले यस विश्वकपमा ६५५ सफल पास पूरा गरिसकेका छन्, जुन एकै संस्करणको विश्वकपमा अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
विश्वकपमा स्पेन र अर्जेन्टिनाबीच यसअघि केवल एकपटक भेट भएको थियो । सन् १९६६ को समूह चरणमा अर्जेन्टिनाले २–१ को जित निकालेको थियो। यस शताब्दीमा भने दुवै टोली चारपटक आमनेसामने हुँदा स्पेनले तीन खेल जितेको छ।