Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा बाँदर नियन्त्रण गर्न २६ जना हेरालु नियुक्त

२०८३, ९ श्रावण शनिबारमा प्रकाशित

अर्घाखाँची जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले प्रकाशित गरेको सूचनाअनुसार छनोट प्रक्रिया पूरा गरी जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा दुई महिनाका लागि २६ जना हेरालु खटाइएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताएका छन् ।

बादर हेरालु भर्नासम्बन्धी सूचनापछि कार्यालयमा प्राप्त ६४ वटा आवेदनमध्ये उमेर, वडा कार्यालयको सिफारिस, प्रभावित क्षेत्रको अवस्था तथा आवश्यक मापदण्डका आधारमा २६ जना छनोट गरिएको कार्यालयले जनाएको छ । उनीहरूलाई मकै बाली संरक्षणका लागि दुई महिनाका लागि नियुक्त गरिएको हो । उनीहरुले मासिक १२ हजार ५ सय रुपैया पारिश्रमिक पाउने छन् ।

डिभिजन वन कार्यालयका अनुसार, नियुक्त भएका हेरालुहरूलाई जिल्लाका विभिन्न वडामा रहेको बाँदर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । उनीहरूको मुख्य जिम्मेवारी खेतीयोग्य जमिन र बालीमा क्षति पुर्‍याउन आउने बादरलाई सुरक्षित तरिकाले धपाउने, स्थानीय किसानसँग समन्वय गर्ने तथा वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गर्न सहयोग पुर्‍याउने रहनेछ । यस कार्यक्रमबाट मकै, गहुँ, तरकारी, फलफूल तथा अन्य कृषि बालीमा हुने क्षति न्यूनीकरण हुने अपेक्षा गरिएको छ डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायणदेव भट्टराईले बताएका छन् ।

अर्घाखाँचीका ग्रामीण भेगमा पछिल्ला वर्षहरूमा बादरको संख्या उल्लेख्य रूपमा बढ्दै गएको किसानहरूको गुनासो छ । विशेषगरी मकै बाली पाक्ने समयमा बादरका झुन्ड खेतबारीमा पस्दा किसानले महिनौँको मेहनत केही घण्टामै गुमाउने अवस्था सिर्जना हुने गरेको छ। कतिपय किसानले बाली जोगाउन दिनभर खेतमै बस्नुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् । कृषि उत्पादनमा मात्र होइन, कृषिप्रति किसानको आकर्षणमा समेत नकारात्मक प्रभाव पारेको स्थानीयहरूको भनाइ छ ।

स्थानीय बासिन्दाबाटै छनोट गरिएका हेरालुहरूले क्षेत्रको भौगोलिक अवस्था, बादरको आवतजावत तथा किसानको आवश्यकता राम्रोसँग बुझ्ने भएकाले कार्यक्रम प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताएका छन् ।

हेरालुहरूले तोकिएको अवधिभर नियमित रूपमा प्रभावित क्षेत्रमा निगरानी गर्ने, बादरलाई मानवीय र वातावरणमैत्री उपायबाट नियन्त्रण गर्ने तथा आवश्यक परे स्थानीय जनप्रतिनिधि र वन कार्यालयसँग समन्वय गरी काम गर्नेछन् । कार्यक्रम सञ्चालन अवधिमा उनीहरूको कार्यसम्पादनको अनुगमनसमेत गरिने जनाइएको छ ।

कृषि नै मुख्य पेशा भएका अर्घाखाँचीका धेरै परिवारका लागि बादर आतंक ठूलो चुनौतीका रूपमा रहेको छ। विशेषगरी पहाडी बस्तीमा बसोबास गर्ने किसानले मकै, आलु, तरकारी र फलफूल खेतीमा ठूलो क्षति व्यहोर्नुपरेको बताउँदै आएका छन्। कतिपय स्थानमा किसानले बादरको डरले खेतीयोग्य जमिन बाँझै छोड्न थालेको अवस्थासमेत देखिएको छ । यस्तो अवस्थामा हेरालु नियुक्त गर्ने निर्णयलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।

कृषकहरुले वन्यजन्तु व्यवस्थापन, बासस्थान संरक्षण, कृषि सुरक्षा प्रविधिको विस्तार, क्षतिपूर्ति व्यवस्था तथा दीर्घकालीन नीति निर्माणमा सरकारको थप ध्यान आवश्यक रहेको बताएका छन् ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले भने यो कार्यक्रम किसानलाई तत्काल राहत दिने उद्देश्यले सञ्चालन गरिएको स्पष्ट पारेको छ । कार्यालयका अनुसार कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्दै आगामी दिनमा आवश्यकताअनुसार थप योजना अघि बढाइनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu