देशभरका उपभोक्ताले पाएन् ग्यास
काठमाडौं । बजारमा एलपी ग्यासको अभाव हुँदा एकैपटक देशभरका उपभोेक्ताले सास्ती व्यहोर्नुपरेको छ । ग्यास कम्पनीले मागअनुरूप आपूर्ति गर्न सकेका छैनन् । निगमले ७.१ केजी तौल आधा सिलिन्डरबाट १४.२ केजीको भरी सिलिन्डर ग्यास बजारमा पठाउने निर्णय गरेसँगै खाना पकाउने ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएको हो ।
उपभोक्ताको मागअनुसार ग्यास आपूर्ति हुन नसक्दा देशभर नै ग्यासको अभाव सिर्जना भएको छ । उपभोक्ता ग्यासका लागि लाइनमा बसेर पालो कुर्न बाध्य भएका छन् । आधा ग्यास सिलिन्डरबाट एकैपटक पूरा सिलिन्डर बिक्री गर्दा माग ह्वात्तै बढेको र उपभोक्ताले स्टकमा राख्न खोज्दा समस्या भएको निगमको दाबी छ । उपभोक्ता ग्यास सिलिन्डरका लागि पालो कुर्दासमेत नपाएपछि डिपो नै गएर लाइन लाग्न थालेका छन् ।
बजारमा ग्यासको हाहाकार हुँदा निगम भने पर्याप्त ग्यास भएको दाबी गर्छ । मागभन्दा बढी नै ग्यास भारतबाट आयात भइरहेकाले समस्या नहुने भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार, ३४ हजार मेट्रिक टन ग्यास आयात भइरहेको अवस्थामा अहिले ४९ हजार मेट्रिक टन ग्यास आइरहेको बताए । भारततर्फबाट नियमित रूपमा ग्यास बुलेट आइरहेकाले समस्या नभएको उल्लेख गर्दै उनी भन्छन्, ‘एकैपटक माग बढ्दा केही अभाव देखिएको हो । दैनिक सय बुलेटभन्दा बढी ग्यास नेपाल भित्रिरहेकाले अभावको अवस्था केही दिनमै साम्य हुन्छ ।’
निगमको दाबीविपरीत ग्यास डिलर र डिपोमा लामो लाइन छ । चाहेका बेला ग्यास नपाउने स्थितिले पनि उपभोक्ता ग्यास थुपार्नतर्फ लागेका छन् । जसका कारण माग बढेको–बढ्यै छ । यसअघि आधा सिलिन्डर भरेकाले छिटो सकिने र एकैपटक दोब्बर मात्रामा ग्यास भर्दा अभाव देखिएको बिक्रेताको भनाइ छ । उपभोक्ता अधिकारकर्मी भने यसलाई निगमको व्यवस्थापकीय कमजोरी मान्छन् । ग्यास बिक्रीवितरणको व्यवस्थित प्रणाली विकसित गर्न नसक्दा बारम्बार एकैखालको समस्या आएको बताउँछन्, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना । अहिलेको समस्या पनि त्यही कारण रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘बजारमा देखिएको एलपी ग्यास अभावको मुख्य कारण नेपाल आयल निगमको व्यवस्थापकीय कमजोरी हो । निगमले आवश्यक परिमाणमा ग्यास आयात भइरहेको दाबी गरे पनि उपभोक्तासम्म नपुग्नुले आपूर्ति व्यवस्थापनमा गम्भीर समस्या देखिन्छ ।’
तिमिल्सिनाले केही ग्यास उद्योगीले आपूर्तिमा असन्तुलन सिर्जना गरी कृत्रिम अभाव उत्पन्न गरेको आशंका पनि व्यक्त गरे । यसबाट कालोबजारी र खाली सिलिन्डरको कारोबारसमेत बढाउने व्यवसायीको भूमिका रहेको हुनसक्ने उनी बताउँछन् । उनले भने ‘टेकु डिपोमा उपभोक्तालाई लाइन लगाएर ग्यास बिक्री गर्नु समाधान होइन । प्रत्येक डिलरलाई जिम्मेवार बनाएर उपभोक्ताको घरनजिकैको डिलरमार्फत ग्यास वितरणको व्यवस्था गर्नुपर्छ ।’
निगमले आवश्यक मात्रामा ग्यास आयात भइरहेको दाबी गरिरहेको भए पनि त्यो ग्यास कहाँ गइरहेको छ ? उनले प्रश्न गरे, ‘यदि ग्यास आएको हो भने बजारमा किन अभाव भयो ? कालोबजारी भएको हो भने दोषीमाथि तत्काल कारबाही हुनुपर्छ ।’
ठुला चाडपर्व नआउँदै अहिले नै ग्यास अभाव देखिँदा नजिकिँदै आएको चाडपर्वमा अवस्था अझै जटिल बन्न सक्ने भएकाले सरकारले तत्काल आयात बढाएर आपूर्ति सहज बनाउन लाग्नुपर्ने देखिएको छ । सरकारले बिजुलीमा भ्याट लगाउने र ग्यासको आपूर्ति व्यवस्थापनमा कमजोरी देखाउने नीतिका कारण उपभोक्ता मारमा परेको अधिकारकर्मी तिमिल्सिना बताउँछन् ।
पश्चिम एसियामा भएको द्वन्द्वले पेट्रोलियम पदार्थको आयातमा कठिनाइ भएपछि नेपाल आयल निगमले गएको गत फागुन २९ गतेदेखि आधा सिलिन्डर मात्रै ग्यास बिक्रीवितरण सुरु गरेको थियो । अमेरिका–इरान युद्धको असरले इन्धनमा संकट देखिएको थियो । त्यतिबेला पनि ग्यासको हाहाकार र लाइन बढ्दै जाँदा निगमले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास बजारमा पठाउने निर्णय गरेको थियो । आधा सिलिन्डर ग्यासले तत्कालको अभावलाई कम गराएको थियो । तर, ग्यासको असजता भएको भन्दै निगमले असार ३१ गतेदेखि फेरि १४.२ केजी भरी सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो ।