Connect with us
Kapilvast Forest

राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक, पूर्वसीईओ शेरचनलाई ५ लाख जरिवाना

२०८३, १८ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकमाथि कारबाही गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पहिलो पटक सचेत गराइएको छ भने प्रभु बैंकको सञ्चालक समितिसँग सुधारात्मक कदम अवलम्बन गर्ने कबुलियतनामा गराइएको छ । साथै, बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

राष्ट्र बैंकका अनुसार, राष्ट्रिय वाणिज्य बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ ले तोकेको व्यवस्था पालना नगरी सम्बन्धित निकायबाट अनुरोध प्राप्त भएपछि पनि समयमै बैंक खाता रोक्का नगरेको पाइएको थियो । उक्त आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम बैंकलाई पहिलो पटक सचेत गराइएको हो।

कृषि विकास बैंकले पनि सोही विनियमावली (प्रथम संशोधनसहित) अनुसार, समयमै बैंक खाता रोक्का नगरेको भेटिएपछि राष्ट्र बैंकले पहिलो पटक सचेत गराएको छ। साथै, आगामी दिनमा सम्बन्धित निकायबाट अनुरोध प्राप्त हुनासाथ खाता रोक्का तथा फुकुवाको प्रक्रिया तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

प्रभु बैंकमाथि भने राष्ट्र बैंकले थप कडा कदम चालेको छ । समष्टिगत स्थलगत निरीक्षणका क्रममा देखिएका गम्भीर प्रकृतिका कमजोरी सुधार गर्न पटकपटक निर्देशन दिइए पनि आवश्यक सुधार नभएको राष्ट्र बैंकले जनाएको छ ।

२०८१ सालको निरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियत सच्याउन निर्देशन जारी गरिए पनि २०८२ मा गरिएको जोखिममा आधारित निरीक्षणमा समेत अपेक्षित सुधार नदेखिएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ख) बमोजिम सुधारात्मक कदम अवलम्बन गर्ने प्रतिबद्धतासहित प्रभु बैंकको सञ्चालक समितिसँग कबुलियतनामा गराइएको हो ।

यसैबीच, प्रभु बैंकका तत्कालीन सिइओ शेरचनमाथि पनि व्यक्तिगत रूपमा कारबाही गरिएको छ । कर्जा वर्गीकरणसम्बन्धी निर्देशन पालना नगरेको, आवश्यक कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, निरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका अधिकांश कैफियत सुधार नगरेको तथा राष्ट्र बैंकमा पेस गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणालीबाट प्राप्त विवरणबीच असमानता देखिएको निष्कर्षका आधारमा उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu