युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुगम घिमिरे
काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा सुगम घिमिरे चयन भएका छन्। मञ्चको आठौँ वार्षिक साधारण सभाले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिअनुसार मनिष श्रेष्ठ निवर्तमान अध्यक्ष, चिराग सरावगी लर्निङ चेयर, शाइनी खेतान मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर तथा निदा दून मल्ल स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयरमा चयन भएका छन्।
त्यस्तै, सुजित रेग्मी गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिलेसन्स चेयर, पुनीत अग्रवाल कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर, यश अग्रवाल स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर तथा अङ्कुर अग्रवाल फाइनान्स एन्ड इन्टरनेसनल रिलेसन्स चेयरमा चयन भएका छन्।
को–चेयरतर्फ मेम्बरसिप एन्ड इन्टिग्रेसनमा न्यान्सी अग्रवाल, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसनमा सचेत मानन्धर तथा गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिलेसन्समा चेतन प्रधान चयन भएका छन्।
साधारण सभाले मञ्चमा वर्षभरि उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा प्रादेशिक च्याप्टरलाई पनि सम्मान गरेको छ। जितेन्द्र बहाती र नेहा अग्रवाल ‘मोस्ट एक्टिभ मेम्बर’ सम्मानबाट सम्मानित भएका छन् भने सुधिज्ञ पन्त ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन्।
यस्तै, सीएनआईवाईईएफ लुम्बिनी च्याप्टरले ‘च्याप्टर ग्रोथ अवार्ड’ तथा सीएनआईवाईईएफ कोशी च्याप्टर ले ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ प्राप्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले सरकारले युवा उद्यमशीलता प्रवर्द्धनका लागि रु. ५० करोड बजेट विनियोजन गरेको जानकारी दिए। उनले सीएनआईवाईईएफसँग सहकार्य गर्दै युवालाई लक्षित उद्यमशीलता विकासका कार्यक्रम अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए।
नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष बीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।