Connect with us
Kapilvast Forest

नाइमा मोबिलिटी एक्स्पो, ५५ ब्रान्ड र ४० नयाँ सवारी लञ्च हुँदै

२०८३, २६ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। दशैंको पूर्वसन्ध्यामा आयोजना हुन लागेको एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी उत्पादन प्रदर्शनीमा राखिने भएका छन्।

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार यसपटकको एक्स्पोमा करिब ४० वटा नयाँ मोडल सार्वजनिक तथा लन्च हुनेछन्। गत वर्षको पहिलो संस्करणमा ४२ ब्रान्ड सहभागी भएकामा यस वर्ष त्यो संख्या बढेर ५५ भन्दा बढी पुगेको उनले बताइन्।

‘पोहोर ४२ वटा ब्रान्ड प्रदर्शनीमा थिए भने यस पटक ५५ भन्दा धेरै ब्रान्ड रहनेछन्,’ वैद्यले भनिन्, ‘यसका साथै ४० वटा नयाँ गाडी लन्च हुँदै छन्। एक्स्पोको तयारी पनि पोहोरको भन्दा राम्रो छ।’

नाइमा एक्स्पो आयोजकले यसलाई नेपालकै ठूलो अटो एक्स्पोका रूपमा प्रस्तुत गरेको छ। अध्यक्ष वैद्यका अनुसार हालसम्म नेपालमा आयोजना भएका अटो एक्स्पोमध्ये एउटै प्रदर्शनीमा यति धेरै ब्रान्ड सहभागी भएको यो पहिलोपटक हो।

गत वर्षको नाइमा एक्स्पोमा ४२ ब्रान्ड सहभागी भएका थिए। यस वर्ष थप १३ भन्दा बढी ब्रान्ड सहभागी भएपछि प्रदर्शनीको आकार र दायरा अझ विस्तार भएको आयोजकको भनाइ छ।

दशैंको पूर्वसन्ध्यामा आयोजना हुन लागेको एक्स्पोले सुस्त रहेको अटोमोबाइल बजारलाई चलायमान बनाउन सहयोग गर्ने अपेक्षा आयोजकले गरेको छ।

अध्यक्ष वैद्यका अनुसार दशैंमा नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकको संख्या बढ्ने भएकाले एक्स्पोले उपभोक्तालाई एउटै थलोमा विभिन्न ब्रान्ड र मोडल तुलना गर्ने अवसर दिनेछ।

‘धेरै नेपालीले दशैंमा नयाँ गाडी किन्ने सोच बनाउनुहुन्छ,’ उनले भनिन्, ‘त्यसका लागि नाइमा एक्स्पोमा सबै गाडी हेरेर कुन किन्ने भन्ने निर्णय गर्न सजिलो हुन्छ।’

एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई विभिन्न कम्पनीले विशेष छुट तथा अफरसमेत दिने भएका छन्। यसले उपभोक्तालाई सवारीसाधन खरिदमा थप सुविधा पुग्ने आयोजकको भनाइ छ।

एक्स्पोमा विद्युतीय सवारीसाधन मुख्य आकर्षणका रूपमा रहनेछन्। विभिन्न ब्रान्डका विद्युतीय कार, मोटरसाइकल, स्कुटर तथा विद्युतीय व्यापारिक सवारीसाधन प्रदर्शनीमा राखिने भएका छन्।

तर हाइब्रिड सवारीसाधनको उपस्थिति भने तुलनात्मक रूपमा न्यून छ। अध्यक्ष वैद्यले सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरे पनि हाइब्रिड सवारीसाधनलाई त्यहीअनुसार नीतिगत सुविधा नदिएका कारण बजार विस्तार हुन नसकेको बताइन्।

‘सरकारले ईभीलाई प्रोत्साहन गर्‍यो तर हाइब्रिडलाई गरेन,’ उनले भनिन्, ‘सरकारले पनि हाइब्रिडलाई बुझ्नुपर्ने हो तर बुझेन। सरकारले प्रोत्साहन नगरेकाले हाइब्रिडको पेनिट्रेसन न्यून छ।’

व्यवसायीले समेत हाइब्रिड सवारीसाधनको पर्याप्त मार्केटिङ नगरेको हुन सक्ने उनको भनाइ छ।

५५ ब्रान्ड, ४० नयाँ मोडल

यसपटकको एक्स्पोको मुख्य आकर्षण नयाँ मोडलका कार, मोटरसाइकल र अन्य सवारीसाधन हुने आयोजकले जनाएको छ। ५५ भन्दा बढी ब्रान्ड सहभागी हुने एक्स्पोमा करिब ४० नयाँ मोडल सार्वजनिक तथा लन्च गरिने भएका छन्।

विद्युतीय सवारीसाधनसँगै अटोमोबाइल पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसन, एक्सेसरिज तथा अन्य मोबिलिटीसम्बन्धी प्रविधिका स्टलसमेत रहनेछन्।

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको समेत सहभागिता रहने भएकाले सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कर्जा, बीमा तथा अन्य वित्तीय सुविधासम्बन्धी जानकारी एउटै थलोबाट लिन सक्नेछन्।

एक्स्पो सुरु हुनुअघि अधिकांश स्टल निर्माण तथा व्यवस्थापनको काम पूरा भएको आयोजकले जनाएको छ। नाइमा एक्स्पो तयारी समितिका सदस्य निराकर श्रेष्ठका अनुसार केही दिनअघिसम्म करिब ५० देखि ६० प्रतिशत काम सम्पन्न भएकोमा एक्स्पो सुरु हुने दिनसम्म सबै स्टल तयार पारिएको छ।

‘व्यवस्थापन पक्षबाट गर्नुपर्ने सबै काम भइरहेको छ र एक्जिबिटरहरूको तर्फबाट पनि आ–आफ्नो स्टल तयार गर्ने काम तीव्र रूपमा भएको छ,’ श्रेष्ठले भने, ‘समयमै सबै स्टल तयार भएर आगन्तुकलाई स्वागत गर्न तयार भएका छौं।’

पार्किङमा थप व्यवस्था

आगन्तुकको सहजताका लागि यसपटक पार्किङ व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको आयोजकले जनाएको छ।

भृकुटीमण्डप परिसरको पार्किङलाई व्यवस्थित गर्नुका साथै नेपाल पुलिस क्लब क्षेत्रको भूमिगत पार्किङसमेत प्रयोगमा ल्याइएको श्रेष्ठले बताए।

‘पार्किङमा हामीले पहिलाभन्दा धेरै सुधार गरेका छौं,’ उनले भने, ‘भृकुटीमण्डप एक्जिबिसन एरियाको पारिपट्टि नेपाल पुलिस क्लबको भूमिगत पार्किङ पनि लिएका छौं। त्यसकारण पार्किङ पहिलेभन्दा धेरै सहज हुनेछ।’

डिजिटल टिकटमा ५० प्रतिशतसम्म क्यासब्याक

एक्स्पोमा प्रवेशका लागि डिजिटल टिकटको व्यवस्था गरिएको छ। डिजिटल टिकटमार्फत टिकट खरिद गर्दा अधिकतम ५० प्रतिशतसम्म क्यासब्याक पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

एक्स्पोलाई सवारीसाधन प्रदर्शनीमा मात्र सीमित नगरी पारिवारिक तथा मनोरञ्जनात्मक बनाउने तयारी पनि गरिएको छ। विभिन्न फुड कोर्ट तथा बेभरेज एक्सपिरियन्सको व्यवस्था गरिने भएकाले सवारीसाधन अवलोकनसँगै खानपिन र मनोरञ्जनको सुविधा पनि उपलब्ध हुनेछ।

एक्स्पो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोले यसपटक ब्रान्ड र नयाँ मोडलको संख्या बढाएर अटोमोबाइल बजारमा प्रतिस्पर्धा र उपभोक्ताको छनोट दुवै विस्तार गर्ने अपेक्षा गरिएको छ। विशेषगरी दशैंअघि आयोजना भएकाले नयाँ सवारीसाधनको माग बढाउने र बजारलाई थप चलायमान बनाउने अपेक्षा व्यवसायीको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu