कपिलवस्तुमा एमालेबाट जितेका उपाध्यक्ष र वडाअध्यक्ष रास्वपामा
नेकपा एमालेबाट निर्वाचित कपिलवस्तुका दुई जनप्रतिनिधिले सुटुक्क रास्वपाको सदस्यता लिएका छन् । विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र वडा नम्बर ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमानले रास्वपाको सदस्यता लिएको देखिन्छ ।
उनीहरू दुवैले भदौ ५ गते सदस्यता लिएका हुन् । एमाले निकट अखिल नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष तथा एमाले जिल्ला सदस्य रहेकी चौधरी लगातार दुई पटक एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । साउनमा मात्रै उनले एमालेको क्रियाशील सदस्यता नवीकरण गरेको एमाले विजयनगर गाउँ कमिटीले जनाएको छ । रास्वपा स्रोतका अनुसार उनको नयाँ पार्टीको सदस्यता नम्बर कपिलवस्तु ३ ख ०००४११५५३ हो ।
यसैगरी, उपाध्यक्ष चौधरीनिकट मानिने वडाध्यक्ष अनवर एमालेनिकट नेपाल मुस्लिम इत्तेहाद संगठनका जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर ३ का सदस्यसमेत हुन् । उनी पनि एमालेबाटै दुई पटक वडाध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन् । अनवरको रास्वपा सदस्यता नम्बर पनि कपिलवस्तु ३ ख ०००४११५५२ रहेको छ ।