Connect with us

शिवराजको लोडरमा एकै वर्षमा ११ लाख ९३ हजार खर्च, आम्दानी शुन्य

२०८३, ९ भाद्र मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कपिलवस्तुको शिवराज नगरपालिकाले सञ्चालनमा ल्याएको एक्साभेटर तथा लोडरमा एकै आर्थिक वर्षमा मर्मत, इन्धन र चालक/अपरेटरको तलबमा ११ लाख ९३ हजार ३ सय ९९ रुपैयाँभन्दा बढी खर्च गरेको देखिएको छ ।

नगरपालिकाको खर्च विवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्रै इन्धनमा ७ लाख ८५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । त्यस्तै मर्मततर्फ ५१ हजार ९९९ रुपैयाँ र अपरेटर/चालकको तलबमा ३ लाख ५६ हजार ४०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । आम्दानीतर्फ भने शून्य देखाइएको छ ।

शिवराज नगरपालिकामा सञ्चालन भएका सयौं योजनाहरूमध्ये कुनै पनि ठाउँमा आफ्नै लोडर प्रयोग गरिएको पाइँदैन । लोडरले आम्दानी गर्ने सायौं विकल्प हुदाहुदै पनि आम्दानी तर्फ ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन ।

नगरपालिकाको खर्च विवरणमा ‘व्याक हो लोडर’ एक थान रहेको उल्लेख छ । उक्त मेसिनबाट आम्दानी भएको विवरण नरहेको अवस्थामा इन्धन, मर्मत र तलबमा ठूलो रकम खर्च भएको भन्दै यसको पारदर्शिता र उपयोगितामाथि प्रश्न उठेको छ ।
इन्धन खर्चमा समेत अनियमितता भएको भन्दै केही जनप्रतिनिधिले कार्यपालिकाको बैठकमै असन्तुष्टि व्यक्त गरेको दाबी गरिएको छ ।

नगरपालिकाका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा न्युज सेन्टर नेपालसँग कुरा गर्दै इन्धनको बिल पेस गरेर नगद लिने गरिएको र खर्च विवरणमाथि प्रश्न उठ्ने अवस्था रहेको बताए ।

उनका अनुसार जनप्रतिनिधि र उच्च तहका कर्मचारीको मिलेमतोमा मेसिनमा आवश्यकताभन्दा बढी खर्च गरिएको हुनसक्ने आशंका छ ।
स्थानीयवासीले पनि नगरपालिकाको मेसिनरीबाट अपेक्षित आम्दानी र सार्वजनिक काम भएको नदेखिएको भन्दै खर्चको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

शिवराज ३ का स्थानीयवासी रोहित सुनारले नगरपालिकाको स्वामित्वमा रहेको मेसिन नियमित रूपमा प्रयोग भएको भए त्यसबाट भएको काम र आम्दानीको विवरण पनि सार्वजनिक हुनुपर्ने बताए । उनका अनुसार इन्धनमा मात्रै ठूलो रकम खर्च हुनु स्वाभाविक देखिँदैन ।

शिवपुरका श्याम प्रसाद खनालले सरकारी मेसिन सञ्चालनमा भएको खर्चको बिल, इन्धन खपत र मेसिन प्रयोग भएको स्थानको विवरण सार्वजनिक गर्नुपर्ने बताए । उनले खर्च पारदर्शी नभए जनस्तरमा प्रश्न उठ्नु स्वाभाविक भएको खनालले बताए ।

त्यस्तै चन्द्रौटाका रोहित बेल्बासेले नगरपालिकाले आफ्नै मेसिन प्रयोग गर्दा नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना बनाउनुपर्ने बताए । बेल्बासेले मेसिनबाट भएको काम, खर्च र आम्दानीको सार्वजनिक लेखापरीक्षण आवश्यक रहेको बताए ।

नगरपालिकाको खर्च विवरणमै मेसिनबाट आम्दानी शून्य देखिएकाले एकातर्फ लाखौँ रुपैयाँ खर्च भइरहेको र अर्कोतर्फ आम्दानी नदेखिनुले नगरपालिकाको मेसिनरी व्यवस्थापनमाथि थप प्रश्न खडा गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu