सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउन आग्रह
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउन आग्रह गरेको छ । नगरपालिकाको नगर प्रहरी टोलीले वडा नं. ८ र ९ का विभिन्न स्थानमा सडक तथा सार्वजनिक स्थान अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउन सम्बन्धित घरधनी तथा निर्माण व्यवसायीलाई अनुरोध गरेको हो ।
नगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री राख्दा आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ्ने भन्दै तत्काल सडक खाली गर्न आग्रह गरेको जनाएको छ ।
नगरपालिकाका अनुसार सम्बन्धित व्यक्तिहरूलाई दुई दिनभित्र सडकबाट निर्माण सामग्री हटाउन समय दिइएको छ । तोकिएको समयभित्र सामग्री नहटाए नगरपालिकाले निर्माण सामग्रीलगायत सडक अतिक्रमण गरी राखिएका सामानहरू जफत गर्ने चेतावनी दिएको छ ।
नगर प्रहरी टोलीले सडक अतिक्रमण हटाउने अभियानलाई नगरका अन्य वडाहरूमा समेत निरन्तरता दिने जनाएको छ । नगरपालिकाले सार्वजनिक सडक तथा स्थानमा निर्माण सामग्री नराखी नगरको सौन्दर्य र आवागमन व्यवस्थापनमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।