तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाई
सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको जानकारी गराएका छन् । यद्यपि तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।
साथै, परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको उनले बताए ।
‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ । सतर्कमा बस्नका लागि सबै जनालाई आग्रह गर्न चाहन्छु,’ प्रवक्ता पोखरेलले भने ।
ड्याम नै फुटेको भन्ने नभएको तर ग्ल्यासियरहरू भने फुटेको कारणले लेदोसहितको पानी ओभरफ्लो हुन पुगेको उनले बताए ।
‘कतै ड्याम फुटेको भन्ने छैन । सामान्य ग्ल्यासियरहरू फुटेको हुनाले धेरै ठाउँमा पानी लेदोसहितको ओभरफ्लो भएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘त्यस्तो ठूलो जोखिम तत्कालै देखिएको छैन, तर सतर्क हुनका लागि भने आवश्यक छ ।’
केहीबेर अघि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ जमेको ताल फुटेको सूचना चिनियाँ पक्षबाट आफूले पाएको बताएका थिए ।
अहिले नदी आसपासमा रहेका मानिसहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित स्थानतर्फ पठाइरहेका छन् ।