रसुवा बाढी: अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
गत आर्थिक वर्ष २०८२/८३ मा कुल वैदेशिक व्यापारको २.१८ प्रतिशत बराबर आयात रसुवागढीबाट भयो । तुलनात्मक हिसाबमा यो कम हो ।
किनकि, २४ असार २०८२ मा नेपाली-चीन सीमानाका हुँदै बग्ने भोटेकोशी (ल्हेन्दे) मा आएको बाढीका कारण यो नाका ६ महिना बन्द भयो ।
१७ असार २०८२ मा चीनले बेलिब्रिज सञ्चालनमा ल्याएसँगै पुन: व्यापार पुनर्स्थापित भएको थियो । पछिल्लो ६ महिना अवधिमा रसुवागढीबाट ४५ अर्ब ७३ करोड रुपैयाँ बराबर वस्तु आयात भयो । निर्यात ८९ करोड ४६ लाख बराबर भयो ।
नेपाल–चीन अन्तरदेशीय व्यापारका लागि अहिले तीन नाका सञ्चालनमा छन् । जसमध्ये रसुवागढी सबैभन्दा सहज र नजिकको नाका हो । गत आवमा तातोपानी नाकाबाट ४७ अर्ब ४८ करोडको वस्तु आयात भयो । निर्यात शून्य थियो ।
पछिल्लो समय यी दुवै नाकाको विकल्प बन्दै गएको मुस्ताङको कोरला नाकाबाट गत आवमा १४ अर्ब ४० करोड बराबरको वस्तु आयात भयो । यस नाका हुँदै २० करोड ५५ लाख बराबर वस्तु निर्यात भयो ।
कोरला नाकामा व्यापार बढ्नुमा गत वर्ष असारमा आएको बाढीले रसुवागढी नाका बन्द हुनु मुख्य कारण थियो । २०८१/८२ मा रसुवागढी नाकाबाट ८५ अर्ब २३ करोड बराबर आयात र २ अर्ब ४ करोड बराबर निर्यात भएको थियो । जुन कुल वस्तु आयातको ४.७२ प्रतिशत र कुल वस्तु निर्यातको ०.७४ प्रतिशत थियो ।
भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार रसुवागढी नेपाल र चीन व्यापारको सबैभन्दा भरपर्दो व्यापारिक बिन्दु हो । २०७२ सालको भूकम्प अगाडि चीनले तातोपानी नाकालाई मुख्य भन्सार बनाएको थियो ।
त्यसपछि भने लामो समय यो नाका बन्द भयो । त्यसयता यो नाका पूर्ण बन्द छैन । तर, चिनियाँ पक्षले विभिन्न कारण देखाउँदै यो नाका पूर्ण क्षमतामा सञ्चालन गर्न इच्छा देखाएको छैन । सोहीकारण नेपाल-चीन अन्तरदेशीय व्यापारको आधार रसुवागढी बनेको थियो ।
२०८२ सालमा बिहान ३ बजे अकस्मात आएको बाढीले १८ जना बेपत्ता भएका थिए । मितेरी पुलसहित ठूलो भौतिक संरचनामा क्षति भयो ।
प्रतिनिधिसभा विकास समिति सभापति तथा तत्कालीन नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्छन्, ‘गत वर्ष नै बाढीले यस भन्सार बिन्दुसहित आसपासको बस्तीलाई कडा चेतावती दिएको थियो, सायद हामीले त्यसलाई गम्भीर लिन सकेनौं ।’
उनले भने जस्तै १० भदौ २०८३ एक त्रासदीपूर्ण कालो दिनका रूपमा स्थापित भयो, जसले हजारौं जनसंख्यालाई प्रत्यक्ष पीडितमात्र बनाएन, राज्यको अर्बौं र निजी क्षेत्रको खर्बौं लगानी एकै झट्कामा बगरमा परिणत गरिदियो ।
रसुवागढी नाका काठमाडौंदेखि गल्छी हुँदै रसुवागढीसम्म १ सय ३२ किलोमिटर दुरीमा छ । यसमध्ये रसुवातर्फको ४० किलोमिटर सडक पूर्णतया बगेको पूर्वाधार विकास मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
यस सडकमा विभिन्न खण्डको अवस्थाबारे सडक विभागले अध्ययन थालेको छ । मितेरीपुलदेखि गल्छीसम्म साढे दुई दर्जन सडक पुल बगेका छन् जसले गर्दा रसुवागढी नाका, भन्सार र अध्यागमनको कामलाई अनिश्चिततातर्फ धकेलेको छ ।
भन्सार विभाग निर्देशक बर्तौला सरकारले लिने निर्णयले यस नाकाका आगामी भविष्य निर्धारण गर्ने बताउँछन् । ‘यो अन्तरदेशीय मुख्य व्यापारिक नाका हो,’ उनी भन्छन्, ‘सरकारले सबै पक्ष अध्ययन गरी निर्णय लेला, सोही अनुसार विभागले काम गर्छ ।’
विभागका अनुसार यस भन्सारमा कार्यरत १५ कर्मचारी अझै सम्पर्कविहीन छन् । अहिले विभागको पहिलो प्राथमिकता समेत सम्पर्कविहीन आफ्ना कर्मचारीको खोज र उद्धार हो । सोही अनुसार विभागले विभिन्न टोली स्थलगत खटाएर कर्मचारी अवस्थाबारे खोजी थालेको छ ।
ऐतिहासिक नाका-भन्सारको ७० वर्षे इतिहास
भन्सार विभागका अनुसार रसुवागढी प्राचीनकालदेखि नै नेपाल र तिब्बतबीच व्यापार तथा सांस्कृतिक आदानप्रदानको प्रमुख मार्गका रूपमा परिचित थियो ।
तत्कालीन समयमा रसुवा जिल्लाका स्थानीय र तिब्बतको केरुङ क्षेत्रका जनताको जीवनयापन सञ्चालनका लागि वस्तु विनिमयको माध्यमबाट व्यापार गरी राजस्व समेत परिचालन गर्ने लक्ष्यसहित ऐतिहासिक तथा पुरातात्विक स्थल रसुवागढीमा २०१३ सालमा रसुवा भन्सार कार्यालय स्थापना भएको थियो ।