Connect with us
Kapilvast Forest

नेपाल नेत्रज्योति सङ्घद्वारा बाढी पीडितलाई १ करोड ४१ लाख ४१ हजार १४१ सहयोग

२०८३, २५ भाद्र बिहीबारमा प्रकाशित

नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सङ्घका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरेका हुन् । गैरनाफामुखी सो सामाजिक संस्थाको सञ्जालभित्रका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट ९९ लाख ७४ हजार ५०६ र कर्मचारी तथा स्वयंसेवकबाट ४१ लाख ६६ हजार ६३५ सङ्कलन गरिएको थियो ।

यही भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा भौतिक क्षति भएको थियो । बाढी प्रभावित नागरिकको दैनिक जीवन, स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर परेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णयअनुसार उक्त रकम सङ्कलन गरिएको सङ्घले जनाएको छ ।

सङ्घअन्तर्गत सञ्चालित विभिन्न अस्पताल तथा आँखा उपचार केन्द्र, जिल्ला शाखा, समाजसेवी, शुभेच्छुक तथा कर्मचारीबाट प्राप्त व्यक्तिगत सहयोगसमेत एकीकृत गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ ।

सङ्घले आर्थिक सहयोगसँगै विपद् प्रभावित नागरिकको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा निःशुल्क आँखा उपचार सेवा उपलब्ध गराइरहेको छ । विपद्का कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन पुगेका नागरिकलाई आवश्यक आँखा परीक्षण, उपचार तथा परामर्शलगायतका सेवा उपलब्ध गराउने कार्यलाई सङ्घले निरन्तरता दिएको छ ।

नेपाल नेत्रज्योति सङ्घका अनुसार विपद्को कठिन समयमा प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य सुरक्षा तथा पुनःस्थापनाका लागि राज्य, नागरिक समाज, निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाको सामूहिक प्रयास आवश्यक छ ।

यसै भावनाअनुरूप सङ्घले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा सहयोग गर्नुका साथै स्वास्थ्य सेवामार्फत प्रभावित समुदायसँग प्रत्यक्ष रूपमा जोडिने प्रयास गरेको हो । सङ्घका कार्यकारी निर्देशक डा शैलेश मिश्रले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत, र पुनःस्थापनामा नेपाल सरकारबाट भइरहेको प्रयासप्रति सङ्घले ऐक्यबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय सहयोग तथा स्वास्थ्य सेवा प्रवाहमार्फत आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने जानकारी दिए ।

सङ्घका महासचिव चन्दका अनुसार सङ्घले हालसम्म पाँच करोड दुईलाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया समेत गरिसकेको छ । सङ्घको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ आँखा उपचार केन्द्रमार्फत नेपाली सहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu