पहिलो मोडलिङ यात्रामै सुमित बने ‘फेस अफ नेपाल २०२६’ का ‘मिस्टर पपुलर’
कपिलवस्तु– कपिलवस्तुको तौलिहवाका सुमित ठाकुरले ‘फेस अफ नेपाल २०२६’ मा ‘मिस्टर पपुलर’को उपाधि जित्न सफल भएका छन् । प्रतियोगी नम्बर ८ का रूपमा सहभागी ठाकुरले पहिलोपटक मोडलिङ क्षेत्रमा पाइला राख्दै उक्त उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन् ।
एमएस प्रोडक्सनद्वारा आइतबार अबेर राति ललितपुरमा आयोजित ‘फेस अफ नेपाल २०२६’ को ग्रान्ड फिनालेमा ८ जना महिला र ११ जना पुरुष गरी कुल १९ जना प्रतियोगी सहभागी भएका थिए । विभिन्न चरणमा उत्कृष्ट प्रस्तुति दिँदै ठाकुरले आफ्नो आत्मविश्वास, व्यक्तित्व र स्टेज प्रेजेन्स प्रस्तुत गरेका थिए ।
ठाकुरका लागि ‘फेस अफ नेपाल २०२६’ नै पहिलो मोडलिङ अनुभव हो । पहिलोपटक नै मोडलिङ प्रतियोगितामा सहभागी भएका उनले रनवे प्रस्तुति, स्टाइलिङ सेसन तथा विभिन्न स्टेज गतिविधिमा आफूलाई प्रस्तुत गर्ने अवसर पाएका थिए ।
दर्शकको भोट तथा समर्थनका आधारमा प्रदान गरिएको ‘Mr. Popular Award’ जितेपछि ठाकुरले यो सम्मान आफ्ना लागि विशेष भएको बताएका छन् । उनले आफ्नो पहिलो मोडलिङ यात्रामै प्राप्त भएको सफलता आफूलाई विश्वास गर्ने, भोट गर्ने तथा निरन्तर साथ दिने सम्पूर्ण दर्शक र शुभचिन्तकहरूको माया र विश्वासको परिणाम भएको बताएका छन् ।
“यो मेरो मोडलिङको पहिलो जर्नी थियो । पहिलोपटक नै यति धेरै माया, विश्वास र सपोर्ट पाउनु मेरो लागि निकै विशेष कुरा हो । ‘Mr. Popular’ को यो अवार्ड मेरो मात्र होइन, मलाई विश्वास गर्ने सम्पूर्ण मानिसहरूको हो,” ठाकुरले भने ।
मोडलिङ क्षेत्रमा पहिलो सफलतासँगै ठाकुरले अब प्रोफेसनल मोडलिङ, कमर्सियल प्रोजेक्ट, ब्रान्ड कोलाबोरेसन, फेसन फोटोसुट, रनवे तथा मनोरञ्जन क्षेत्रमा आफ्नो यात्रा अगाडि बढाउने लक्ष्य लिएका छन् ।
तौलिहवाबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका ठाकुरको पहिलो प्रयासमै प्राप्त ‘Mr. Popular’ उपाधिले कपिलवस्तुको नाम राष्ट्रियस्तरको फेसन तथा मनोरञ्जन क्षेत्रमा समेत चिनाउन योगदान पुर्याएको छ ।