कपिलवस्तु प्रहरीद्वारा भारी वर्षा सम्बन्धि सचेतना अभियान
कपिलवस्तु–
नेपाल मौसम विज्ञान विभागले आज २०८३ साल असोज ८ गते नेपालका धेरैजसो भू–भागमा अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि कपिलवस्तु प्रहरीले जोखिमयुक्त क्षेत्रमा सामुदायिक सचेतना अभियान सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी कार्यालयबाट ४८ वटा प्रहरी इकाइका १९२ जना प्रहरी परिचालन गरी नदी किनारा, तटीय क्षेत्र तथा बाढीपहिरोको जोखिम हुन सक्ने विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले जिल्लाका ५८ वटा जोखिमयुक्त स्थान तथा बस्तीमा पुगेर माइकिङ गर्नुका साथै पर्चा–पम्पलेट वितरण गरी स्थानीयवासीलाई सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रहरीले विशेषगरी नदी तथा खोलाको किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन, जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्भावित विपद्को अवस्थामा सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको जनाएको छ ।
प्रहरीले विपद्को अवस्था सिर्जना भएमा तत्काल सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय तहलाई खबर गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।