राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न
कपिलवस्तु- राष्ट्रिय जनमोर्चा शिवराज नगरपालिका–४ को तेस्रो वडा भेला सम्पन्न भएको छ । भेलाले हुसेन मुल्लाको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरेको छ ।
शिवराज–४ बनकट्टीमा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला समितिका सचिव केर सिंह अदैको प्रमुख आतिथ्यता रहेको थियो । पदमबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भेलाले सल्लाहकारसहित नयाँ वडा समिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा बेलौता विक, सचिवमा कृष्ण गिरी, सहसचिवमा शोमनाथ गिरी र कोषाध्यक्षमा शिवकुमार गोसाईं चयन हुनुभएको छ । सदस्यहरूमा प्रमिला केवट, सीता भुसाल, कनही यादव, मेहबुब मन्सुरी, जाकिर हुसेन र टेकबहादुर विक रहनुभएको छ ।
त्यस्तै, सल्लाहकारमा पदम जिसी, सुरज कुँवर, छबि बहादुर शावत र राधा केवट चयन हुनुभएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अदैले देशको तत्कालीन राजनीतिक परिस्थितिबारे चर्चा गर्दै राष्ट्रियता र गणतन्त्रको रक्षा तथा संघीयता खारेजीको विषयमा पार्टीको धारणा प्रस्तुत गर्नुभएको थियो ।
उहाँले पार्टीको संगठन विस्तार तथा सदस्यता नवीकरणमा जोड दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा शिवराज नगर समितिका अध्यक्ष केहर सिंह पुन मगर, जातीय समता समाजका जिल्ला सचिव रामबहादुर चमार र अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला उपाध्यक्ष रूपलाल घर्तीले शुभकामना मन्तव्य दिनुभएको थियो ।
नवनिर्वाचित वडा समितिलाई राष्ट्रिय जनमोर्चा शिवराज–३ का अध्यक्ष रामदेव कुर्मीले बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा अदैले पार्टी सदस्यता नवीकरण तथा सदस्यता प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव कृष्ण गिरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष बेलौता विकले दिनुभएको थियो ।