नागढुङ्गा मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ । पहिरोका कारण मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर पहिरो हटाउने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबारदेखि अर्को सूचना प्रकाशित नभएसम्म बिहान ११ बजेदेखि अपह्रान्न ४ बजेसम्म पाँच घण्टा सडक आवागमन बन्द गरिने जानकारी दिएको हो ।
सडक बन्द गरी जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने काम गर्नका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त समयमा सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहने छन् । घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले सडकमा थप जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पहिरो व्यवस्थापनको काम अघि बढाउन सडक बन्द गरिएको हो ।
साथै नारायणगढ तर्फबाट जाने गाडीलाई जुगेडी र आँपटारीमा, पोखरा तर्फबाट आएका गाडीलाई आँबुखैरेहनी र काठमाडौँ तर्फबाट आएका गाडीलाई रमाईलो डाँडामा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।