साउदी अरेबियाका सयौं सैनिक हुथी विद्रोहीको नियन्त्रणमा !
काठमाडौं । यमनका हुथी विद्रोहीले सयौंको संख्यामा साउदी अरबका सैनिकलाई नियन्त्रणमा लिएको दावी गरेका छन् ।
हुथी विद्रोहीका प्रवक्ता कर्नल याहिया सारियाले साउदी अरबको नाजरान शहरबाट तीन वटा सैनिक ब्रिगेडले आत्मसमर्पण गरेको दावी गरेका हुन् ।
नियन्त्रण्मा लिइएका साउदी सैनिकको संख्या हजारौं रहेको हुथी विद्रोहीहरुले दावी गरेको छ ।तीन दिने कारवाही अभियानमा कयौं सैनिक मारिएकोसमेतउनीहरुले दावी गरेका छन् ।तर हुथी विद्रोहीको दावीबारे साउदी अरेबियाका सरकारी अधिकारीहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।हुथी विद्रोहीका प्रवक्ता सारियाले यमनमा जारी विद्रोहमा अहिलेसम्मकै ठूलो सफलता हात परेको दावी गरेका छन् ।
नियन्त्रणमा लिइएका सैनिकले परेड खेलेको भिडियो टेलिभिजनमार्फत प्रसारण गर्ने विद्रोहीले चेतावनीसमेत दिएका छन् ।हुथी विद्रोहीले यसअघि पनि साउदी अरेबियाका दुई तेल प्रसोधन केन्द्रमा आक्रमण गरेको दावी गर्दै आएको छ ।यही सेप्टेम्बर १४ मा भएको हमलापछि विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको थियो ।
यमनमा सन् २०१५ देखि जारी संघर्षमा हुथी विद्रोहीले राजधानी सनालाई कब्जामा लिएपछि राष्ट्रपति अब्दरबु मंसुर हादी देश छोडेर भागेका थिए ।