Connect with us
Kapilvast Forest

आयल निगम र उद्योगीबीच टकराव : ग्याँस पाउनै मुस्किल

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं-काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवन बस्ने शर्मिला सुवेदीले नजिककैको ग्याँस पसलमा खाना पकाउने ग्याँसका लागि नाम टिपाएको तीन दिन भइसक्यो । घरमा प्रयोग भइरहेको अर्को सिलिण्डरको ग्याँस रातो बल्न थाले लगत्तै उनले खाली सिलिण्डर भर्न बिक्रेताकोमा नाम टिपाएकी थिइन् । तर, ग्याँस पाउन अझै केही दिन लाग्ने जानाकारी उनले बिक्रेताबाट पाएको छ । ‘कतिबेला घरको ग्याँस सकिने हो ठेगान छैन,’ सुवेदीले अनलाइनखबरसँग भनिन्, ‘प्रयोग भइरहेको ग्याँस सकियो भने परीक्षा चलिरहेका बालबालिकालाई के खुवाउने हो ?’

काठमाडौं महानगरपालिका–१६ नयाँबजारका सुमन गजुरेललाई पनि यस्तै चिन्ताले सताएको छ । साइबाबा कम्पनीको एउटा खाली सिलिण्डर भर्न बिक्रेतालाई फोन गरेको सात दिन भइसक्दा पनि उनले ग्याँस पाएका छैनन् ।

 

‘बजारमा माग बमोजिम ग्याँस उपलब्ध नभएका कारण दिन नसक्ने जानकारी बिक्रेताले गराएको छ । अझै केही दिन कुर्न भनेका छन्’ गजुरेलले गुनासो गरे । बजारमा के कारणले ग्याँस अभाव भएको आफूलाई जानकारी नभएको उनले सुनाए ।

ग्याँसको अभाव भोगिरहेका शर्मिला र सुमन त प्रतिनिधि पात्र मात्रै हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा ग्याँस नपाइएको भनेर दैनिक दर्जनौ गुनासो उपभोक्ताले गर्ने गरेका छन् ।

 

विभागका अधिकृत धनेश्वर पौडेलकाअनुसार ग्याँस उद्योगीले भरेको ग्याँस होटल तथा ठूला ग्राहकलाई उपलब्ध गराएर सर्वसाधरणमा अभाव सृजना गरेको, नयाँ ग्राहकलाई ग्याँस उपलब्ध नगराइएको भन्ने गुनासाहरु धेरै मात्रामा विभागमा टिपाइएको छ ।

जसअनुसार तीन वटा ग्याँस वितरकलाई ५५ हजार रुपैयाँ कारबाही पनि गरिएको उनले बताए । ‘ग्राहकलाई ग्याँस दिन आनाकानी गर्ने तथा कृत्रिम अभाव सृजना गर्ने तीन वटा उद्योगलाई जरिवान गरिएको हो,’ पौडेलले भने, ‘अनुगमन अझै जारी राखेका छौं ।’

नेपाल आयल निगम भने ग्याँस अभाव हुनुमा आफ्नो भूमिका नभएको बताएको छ । ग्याँस खरिदको अग्रिम अनुमतिपत्र पीडीओबाहेक ग्याँस खरिद बिक्रीको सम्पूर्ण अधिकार व्यवसायीको भएको निगमका ग्याँस विभाग प्रमुख नेत्र काफ्लेले बताए । निगमसँग आन्दोलित व्यवसायीले दुई हप्तासम्म ग्याँस आयात रोक्दा बजारमा अभाव देखिएको उनले स्वीकारे । ‘व्यवसायीले गरेको आन्दोलनले बजारमा समस्या भएको हो । समस्या अझै एक सातासम्म रहन्छ,’ काफ्ले भने, ‘सामान्य अवस्थाको भन्दा दैनिक ५५ बढी बुलेटका दरले आयात बढ्दा पनि बजारको समस्या टरेको छैन । यो सबै हुनुमा व्यवसायी नै दोषी छन् ।’

सामान्य अवस्थामा वैशाख पहिलो साता दैनिक ७० देखि ८० बुलेट ग्याँस आयात हुनु पर्नेमा अहिले दैनिक १३५ बुलेटसम्म ग्याँस भित्रिरहेको काफ्ले बताए । भारतको पारादीप, हल्दिया, मथुरा र बरौनीबाट अधिकतम् रुपमा ग्याँस आयात बढाइँदा पनि समस्या नसुल्झिएको उनको भनाइ छ ।

व्यवसायीहरुले भने वर्तमान ग्याँस अभावको कारण आफूहरु नभई निगम भएको आरोप लगाउँछन् । ‘निगमले आफूहरुले माग पूरा नगरेका कारण निगमलाई चेतावनी दिन आफूहरुले आन्दोलन गर्नु परेको हो,’ नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष एवं राजधानी ग्याँसका सञ्चालक कुश मल्लीले भने, ‘तीन हप्ता गरेको आन्दोलनको असर त बजारमा देखिने नै भयो ।’ बढेको इन्धनको मूल्यअनुसार बुलेटको ढुवानी भाडा नबढाएर निगमले अन्याय गरेको उनले बताए ।

अत्यावश्यक सेवामा कसैले पनि कार्टेलिङ तथा हड्ताल र अवरोध गर्न नपाउने व्यवस्था अत्यवश्यक सेवा सञ्चालन ऐन २०१७ ले गरेको छ । तर, आफ्नो स्वर्थ पूरा गर्नका लागि संस्थागत रुपमै पेट्रोलियम व्यवसायीले गरेको अवरोधमा नियमक भने मौन छन् ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल मर्हजन छाक टार्नका लागि उपभोक्ता ग्याँसको सिलिण्डर बोक्दै हिंड्दा पनि सरकार जानाजान मौन बसेको उनले बताए । ‘ग्याँस अभाव कृत्रिम हो, व्यवसायीले आफ्नो पहिलो आन्दोलन तुहिएपछि झिकेको अर्को बखेडा हो,’ मर्हजनले भने, ‘अहिले सरकारलाई टाउको दुखेकै छैन । ऊ थामथुप पार्न लागेको छ ।’ अत्यवशयक सेवालाई रोक्ने व्यवसायीलाई स्वयम् निगम, वाणिज्य विभाग र सीडीयो कार्यालयले कारबाही गर्न सक्ने भए पनि सबै निकाय मौन देखिएको उनले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu