Connect with us
Kapilvast Forest

रसुवामा एमाले तर्फका अध्यक्षको मनोनयन रद्ध

२०७९, १३ बैशाख मंगलवारमा प्रकाशित

 

काठमाडौं- रसुवाको आमाछोदिङमो गाँउपालिकामा नेकपा (एमाले) का तर्फबाट अध्यक्षको उम्मेदवारमा गरिएको मनोनयन रद्ध भएको छ । २०७४ सालमा वागमती प्रदेश संसदको बन्दसूचिमा नामवली रहेका टेम्रेल तामाङले अध्यक्षमा उम्मेदवार दिनुभएपछि उहाँको मनोनयन दर्ता नगरिएको सहायक निर्वाचन अधिकृत अमरबहादुर जिसिले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

तात्कालिन नयाँ शक्ति पार्टीबाट वागमती प्रदेश संसदमा तामाङको नाम बन्दसूचिमा समावेश गरिएपनि हालसम्म नहटाएपछि उहाँको मनोनयन दर्तामा कानुनी बाधा पुगेको उहाँले जानकारी दिनुभयो । नयाँ शक्ति पार्टीबाट तामाङ नेकपा (एमाले) प्रवेश गर्नुभएको थियो ।

सोमबार सामान्य विवाद पछि एमालेले पुनः फुर्वु सिङगी तामाङलाई फेरी अध्यक्षमा मनोनयन दर्ता गराएका थिए । तर अन्यदलहरुले एउटै पार्टीबाट दुई वटा उम्मेदवार दर्ता भएको भन्दै विरोध जनाएपछि पछिल्लो मनोनयन दर्ता खारेज गरेको जिसिले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले अघिल्लो मनोनयनलाईनै प्राथमिकता दिएको तर कानुनी अड्चन आएसँगै निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा जानकारी सहितको प्रतिवेदन पेश गरिएको जनाएको छ ।

आयोगको केन्द्रीय कार्यालयको निर्णयनै अन्तिम हुने तर बन्दसूचिबाट नयाँ शक्ति पार्टीले नाम नहटाएका कारण मनोनयन दर्ता हुने सम्भावना भने नभएको कार्यालयको भनाई छ । बन्दसूचिमा नाम भएका कारण अध्यक्षका उम्मेदवार तामाङ प्रदेश सांसद समेत हुने बाटो अझै खुल्ला हुने कानुनी व्यवस्था छ ।

यस गाउँपालिकामा २७ वटा स्थानमा निर्वाचन हुने छ भने अध्यक्षका लागि तामाङ सहित आठ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ । एक जना स्वतन्त्र रहेका छन् । गाउँपालिकामा जम्मा पाँच वडा रहेका छन् ।

साेमबार स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगकाे तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ । यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा ३२ हजार २१७, महिला सदस्यमा २३ हजार ५२१, दलित महिला सदस्यमा २१ हजार २२१ र वडा सदस्यमा ४९ हजार २३९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu