चितवनका निर्वाचित जनप्रतिनिधिले शपथ खाए
चितवन-गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत चितवनका चार पालिका प्रमुखमा निर्वाचित जनप्रतिनिधिहरूले शपथग्रहण गरेका छन् । भरतपुर-१० मा रहेको जिल्ला समन्वय समितिको सभाहलमा आज जिल्ला न्यायाधिश प्रकाशकुमार अधिकारीले उनीहरूलाई सपथग्रहण गराएका हुन् ।
नेकपा (एमाले)बाट निर्वाचित माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतो, एमालेबाटै निर्वाचित कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, नेपाली कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनियाँ र एमालेबाट निर्वाचित इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले शपथग्रहण गरेका हुन् ।
माडीकी प्रमुख महतोले गठबन्धनबाट निर्वाचन लडेका माओवादी केन्द्रका ऋषि काफ्लेलाई पराजित गरेकी थिइन् । यस्तै खैरहनीका नगर प्रमुख खनियाँले एमालेका लालमणि चौधरीलाई पराजित गरेका थिए । यस्तै कालिका नगरपालिकाका प्रमुखमा रेग्मीले कांग्रेसका शिवराम केसीलाई हराएका थिए ।
इच्छाकामनाका प्रमुख दानबहादुर गुरुङले कांग्रेसकी गीता गुरुङलाई पराजित गरेकी थिइन् । निर्वाचित पालिका प्रमुखहरूलाई निर्वाचन अधिकृतले विजेताको प्रमाणपत्रसमेत प्रदान गरेका थिए । शपथ लिएका प्रमुखहरूले आजै पालिका उपप्रमुख र वडा अध्यक्षहरूलाई शपथग्रहण गराउँदै पदभार ग्रहण गर्ने तयारी भएकाे छ । चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र राप्ती नगरपालिकाको मतगणना जारी छ ।