भरतपुरमा रेनुको मत ५० हजार नाघ्याे,जगन्नाथले १४ हजार कटाए,
चितवन – भरतपुर महानगरपालिकामा मेयर, उपमेयर पदमा सत्तारूढ गठबन्धनका उम्मेदवार निकै फराकिलाे मतान्तरले अग्रता लिइरहेका छन् । भरतपुरमा अब ३ हजार जति मत गन्न बाँकी छ । गठबन्धनबाट मेयर, उपमेयर दुवैले ५० हजार मत कटाएका छन् । मेयर पदमा एमालेका उम्मेदवार विजय सुवेदीले याे पटक ल्याएकाे मत अघिल्लाे पटक २०७४ सालकाे स्थानीय तह निर्वनचनमा एमालेका उम्मेदवारले ल्याएकाे भन्दा कम मत आउने देखिएकाे छ ।
भरतपुरमा साेमबार रातिसम्म कुल १ लाख २४ हजार ४४ मत गणना हुँदा रेनु दाहालकाे ५० हजार ३ सय १० र एमालेका विजय सुवेदीकाे ३८ हजार २ सय ९६ मत आएकाे छ । रेनुले गन्न बाँकी रहेकाे भन्दा पनि तेब्बर १२ हजार १४ मतले अगाडि छन् ।
अघिल्लाे निर्वाचनमा पनि अहिलेकाे जस्तै सत्तारूढ गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले भरतपुरमा चुनावी तालमेल गरेका थिए जसमा मेयर पदमा रेनु दाहाल नै उम्मेदवार थिइन् । त्याे बेला रेनु दाहालले ४३ हजार १ सय २७ मत ल्याएर मेयर पदमा विजयी हुँदा उनका निकटतम प्रतिसपर्धी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।
अघिल्लाे निर्वाचनमा भरतपुरमा एमालेका वडाध्यक्ष पदका उम्मेदवारहरूलाई आएकाे जति मत याे पटक विजय सुवेदीलाई आएकाे छ । अघिल्लाे पटक एमालेका वडाध्यक्षहरूले ल्याएकाे कुल मत ३८ हजार ३ सय ९५ थियाे । अघिल्लाे चुनावमा भरतपुरका २९ मध्ये १४ वटा वडाहरूमा वडाध्यक्ष जितेकाे एमाले याे पटक पाँच वटामा खुम्चेकाे छ । मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पाैडेलले १४ हजार ७ सय ५ मत ल्याएका छन् ।
भरतपुरमा चुनावी तालमेल हुँदा मेयर पद कांग्रेसले नै लिनु पर्ने आवाज चितवन कांग्रेसभित्र चर्काे रूपमा उठेकाे थियाे । चुनावी तालमेल गरेर अघिल्लाे पटक जस्तै याे पटक पनि मेयर पद माओवादी केन्द्रलाई दिएपछि चितवन कांग्रेसका असन्तुष्ट पक्षले मेयरमा पाैडेललाई उठाएकाे थियाे । पाैडेलकाे उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री, मन्त्री, कांग्रेसका नेताहरू, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुलीलगायतले भेटेर या फाेनबाट अनुराेध गरेका थिए । तर, पाैडेल उम्मेदवार कामय नै रहे ।