Connect with us
Kapilvast Forest

रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं -विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् ।

 

गत ५ वर्षदेखि आफूले तन, मन र धनले भ्याएसम्म संयोजक र अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गरेको भन्दै मिश्रले उल्लेख गरेका छन्, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु,’ मिश्रले वक्तव्यमा उल्लेख गरेका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह चुनावमा विवेकशील साझाले बाराको फेटा गाउँपालिकामा मात्रै जित निकालेको थियो । त्यसबाहेक पहिले बलियो देखिएको स्थानमा पनि पार्टीले लज्जास्पद हार व्यहोरेको छ ।

यस्तो छ मिश्रको वक्तव्यको पूर्णपाठ

विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा

स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।

हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।

गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु। तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिन। तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु।

विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईँहरूकै देन हो। विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ।

मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।

पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ। मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु। पार्टीको साख केन्द्रीय समितिका साथीहरूको नेतृत्वमा पुनर्स्थापित हुने विश्वास लिएको छु। सो प्रयासमा मेरो पूर्ण सहयोग रहने छ।

नेपालको जय होस्!

रवीन्द्र मिश्र

विवेकशील साझा पार्टी

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu