पोहोर र यसपालीकाे प्रश्न हुबहु, परीक्षा दिइसकेकाले स्थगित नहुने
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्सको प्रश्नपत्रमा लापरबाही गरेको पाइएको छ ।
मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपाली हुबहु प्रश्न साधेको छ । बुधबार लिएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्नपत्र दोहोर्याएको छ ।
६० पूर्णाङ्कको परीक्षामा दुई खण्डमा सोधिएका १३ वटा प्रश्न हुन्छन् । ती सबै प्रश्न पोहोर सालका प्रश्नसँग हुबहु मिलेको छ ।
त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिव अधिकारीले पढाउने विषयको प्रश्नपत्र नै हुबहु भएको हो । प्रमुख अधिकारीले प्रश्नपत्र बैंकबाट छनौट गर्दा पुरानो प्रश्नपत्र परेको बताए । ‘हामीसँग प्रश्नपत्रको बैंक हुन्छ, त्यसबाट नयाँ र पुरानो मिसाएर प्रश्नपत्र तयार गरिन्छ,’ उनले भने, ‘परीक्षा हुनु केही दिनअघि प्रश्नपत्र बैंकबाट एउटा प्रश्नपत्र छनौट गरिन्छ । ¥यान्डम्ली प्रश्नपत्र छनोट गर्दा पोहोरकै परेछ ।’
कोर्स बाहिरको प्रश्न नभएकोले प्रश्नपत्र दोहोरिनु समस्या नभएको उनले जिकिर गरे । ‘सिद्धान्ततः प्रश्नपत्र दोहोरिनु हुँदैन भन्ने कतै छैन । तर, सेट नै दोहोरिएको हुँदा प्रश्न उठ्यो’, उनले भने, ‘विद्यार्थीले परीक्षा दिइसकेपछि मात्रै हुबहु दोहोरिएको भन्ने थाह भएकोले परीक्षा स्थगित हुँदैन ।’एकै किसिमका प्रश्न भए पनि मूल्यांकन प्रक्रियामा समस्या नहुने बताए ।
