सरकार मलमा ‘माल’ खोजिरहेको छ : भट्टराई
काठमाडौं -नेकपा (एमाले) का सचिव तथा सांसद योगेश भट्टराईले सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन नसक्नुको पछाडी आर्थिक चलखेलको आशंका व्यक्त गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बुधबार बजेटमाथिको मन्त्रालयगत छलफलमा बोल्दै उनले सरकारले ‘माल’ नपाएसम्म मल नल्याउने बताए।
‘मल आउँछ तर यो सरकारले मल ल्याउन खोजेको छैन। मलमा ‘माल’ खोजिरहेको छ ‘माल’!, भट्टराईले भने, ‘जबसम्म ‘माल’ आउँदैन मलमा, तबसम्म मल आउनेवाला छैन।’
उनले कृषिमन्त्री मलको खोजीमा भारत गएको भन्ने जानकारी पाएको भन्दै मल आउँछ कि आउँदैन भनेर प्रश्न गरे।
‘कृषि मन्त्री मल खोज्न भारत जानुभएको छ, कहाँ पुग्नुभो? उहाँको हालखबर के छ? मल आउँछ कि आउँदैन? लिएर आउनुहुन्छ कि आउनुहुन्न?’ उनले भने, ‘मल नपाएर थकित भएर कृषि मन्त्री उतै निर्वासित हुने हो कि ! भन्ने आशंका पनि छ।’
कृषि मन्त्रालयले प्रति वर्ष ३० प्रतिशत आयात प्रतिस्थापन गर्ने भनिए पनि त्यसका लागि आवश्यक बजेट, बजार, जनशक्ति, उत्पादन केही पनि नभएको उनको भनाइ छ।
कृषकलाई दिने पेन्सनका विषयमा पनि अस्पष्टता रहेको उनले बताए।