Connect with us
Kapilvast Forest

पालिकामा एम्बुलेन्स छैन,जनप्रतिनिधिलाई चिल्लो गाडी

२०७९, २ असार बिहीबारमा प्रकाशित

बैतडी- गाउँगाउँमा कच्ची सडकको पहुँच पुगेको छैन तर जनप्रतिनिधिका लागि चिल्ला गाडी खरिद गरिएका छन् । त्यही गाउँबस्तीमा बिरामी बोक्ने स्ट्रेचर र एम्बुलेन्स छैन । यो समस्या बैतडीका दुर्गम गाउँपालिकामा देखिएका छन् ।

बैतडीको दुर्गम सिगास गाउँपालिका, पुरचौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध नहुँदा बिरामीलाई अस्पताल लैजान समस्या छ । सिगास गाउँपालिका–१, बेसरा गाउँकी जानकी भट्ट गोठमा सुत्केरी हुँदा शिशुको मृत्यु भयो । एम्बुलेन्स त परको कुरा, गाउँमा स्ट्रेचरसमेत नहुँदा सुत्केरी बेथा लागेको २४ घण्टासम्म स्वास्थ्य संस्था लैजान नसक्दा शिशुको मृत्यु भएको थियो । जानकीले सुत्केरी भत्तासमेत नपाएको गुनासो गर्नुभयो ।

पञ्चेश्वरका राजेन्द्र धामीले भन्नुभयो, “आफन्त बिरामी हुँदा एम्बुलेन्स सेवा पाइएन, स्ट्रेचरमा बोकेर भारतको खटीमा लगेर उपचार गरियो ।” स्थानीय तहका गाउँघर क्लिनिकमा स्ट्रेचर, सिटामोल औषधि, गर्भवती महिलाको स्वास्थ्य परीक्षण, बच्चाको तौल लिने, परिवार नियोजनका अस्थायी साधनजस्ता सेवा उपलब्ध हुने भए पनि सिगास गाउँपालिका–१, बेसरास्थित गाउँघर क्लिनिकमा कुनै पनि सुविधा नभएको स्थानीय नरेश भट्टले बताउनुभयो ।

बैतडीको सबैभन्दा बढी जनसङ्ख्या भएको पुरचौडी नगरपालिकामा एम्बुलेन्स नहुँदा बिरामी समस्यामा परेको स्थानीयले गुनासो गरेका छन् । पालिकामा भएको एम्बुलेन्स दुर्घटनामा परेको दुई वर्षसम्म मर्मत नहुँदा एम्बुलेन्स सेवा बन्द भएको छ । पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स पनि धनगढीमा दुर्घटना हुँदा प्रहरी नियन्त्रणमा रहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

बैतडी सदरमुकामबाट टाढा रहेका पुरचौडी नगरपालिका र सिगास गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामी समस्यामा पर्दै आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले भन्नुभयो, “दुर्गम पालिकामा एम्बुलेन्स नहुँदा सुत्केरी महिला र बिरामीको अकालमै मृत्यु हुने खतरा बढेको छ ।”

उहाँले भन्नुभयो, “सार्वजनिक सवारीसाधन तुरुन्तै उपलब्ध हुँदैनन्, भइहाले पनि चर्को भाडा तिरेर पनि अक्सिजनको व्यवस्था हुँदैन । त्यसैले स्थानीय सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील बनेर एम्बुलेन्सको व्यवस्था गर्नुपर्छ ।” पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र पुरचौडी नगरपालिकामा बाढीपहिरोको जोखिम भएकाले वर्षाअघि नै एम्बुलेन्स सेवा सञ्चालन गर्नुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu