बलेरोले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते
फाइल तस्बिर
तनहुँ । पृथ्वीराजमार्गमा बलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ । श्रीमान र छोरा घाइते भएका छन् ।
मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नम्बरको बलेरो विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–००–०१ प ८३ नम्बरको स्कुटरलाई बन्दीपुर गाउँपालिका–५ याम्पामा ठक्कर दिएको हो ।
बलेरोको ठक्करबाट भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने ३० वर्षीया शोभा धितालको मृत्यु भएको छ । शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा शोभाको श्रीमान ३६ वर्षीय सुरज र ९ वर्षीय अर्पण घाइते भएका छन् । उनीहरुको मेडिकल कलेजमै उपचार भइरहेको छ । उनीहरुको अवस्था सुधार उन्मुख रहेको अस्पतालले जनाएको छ ।