प्रचण्डले कसलाई बनाउलान् महासचिव ?
काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा दुई दिनसम्म उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जवाफ दिनुपर्ने थियो ।त्यसैले प्रचण्डले मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाए । केन्द्रीय समितिको बैठक बुधबार १ बजेलाई सारेर नेताहरु छलफलमा जुटे । तर पदाधिकारीको टुंगो लागेको छैन ।
गत पुसमा महाधिवेशन गरेको माओवादीले पदाधिकारी, स्थायी समिति र पोलिट्व्यूरो बनाउन सकेको छैन । नेताहरुका अनुसार प्रचण्ड, यो केन्द्रीय समितिबाट पोलिटब्यूरो र स्थायी समिति बनाएपनि पदाधिकारी टुंग्याउने मुडमा थिएनन् ।
तर केन्द्रीय समितिमा अधिकांशले भए सहमति, नभए मतदानबाटै भएपनि पदाधिकारी टुंग्गो लगाउनुपर्ने बताए । बुधबार खुमलटारमा भएको छलफलमा पनि नेताहरुले पदाधिकारी र पार्टीका अरु संरचना टुंग्याएर जानुपर्नेमा जोड दिए । पूर्व स्थायी समिति सदस्य गणेश साह भन्छन्, ‘सबैको कुरा यसरी राख्नुहुन्न, केन्द्रीय समिति जसरी बनाइयो, त्यसैगरी पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी बनाउनुपर्छ भन्ने थियो ।
पदाधिकारी टुंग्याउन दबाव आएपछि प्रचण्डले प्रस्ताव राखे, सहमतिमा गरौं, भोटिङमा नजाऔं । आफूले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी प्रस्ताव गर्ने, तर मतदानमा नलैजाने प्रस्तावमा नेताहरुले मौन सहमति जनाएका छन् ।
‘पदाधिकारीसहित स्थायी समिति, पोलिटब्यूरो भोलि सबै पेस हुन्छ, पास हुन्छ’, नेता हरिबोल गजुरेल भन्छन्, ‘सहमतिबाट गर्ने, अध्यक्षले ल्याएको प्रस्ताव स्वीकार गरेर जाने तर चुनावमा नजाने सहमति भएको छ ।
माओवादी केन्द्रमा पदाधिकारी संख्या कति भन्ने यकिन छैन । पुसको महाधिवेशनमा विधान संशोधन पेश गर्दा १५ भनिएपनि पास गर्दा आवश्यकताअनुसार भनिएको छ । पदाधिकारीमा पनि सबभन्दा चासो महासचिव को भन्ने छ ।
चर्चामै नभएको नामतिर जाउँ कि क्या हो ?
माओवादी केन्द्रमा महासचिवका आकांक्षी धेरै छन् । जनादर्न शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, पम्फा भुसाल, देव गुरुङ महासचिवका आकांक्षीका रुपमा हेरिएको छ ।
एक सहभागीका अनुसार बैठकमा अर्थमन्त्री समेत रहेका नेता जर्नादन शर्माले आफ्नो आकांक्षा झल्किने गरी धारणा राखेका थिए भने अर्का आकांक्षी वर्षमान पुनले अध्यक्षले जस्तो प्रस्ताव ल्याए पनि मान्ने बताएका थिए । धेरैले भने ‘सबैको सल्लाहलाई मनन गरी काम सजिले हुने गरी नाम प्रस्ताव गर्न’ सुझाएका थिए ।
एक नेताका अनुसार छलफलकै क्रममा प्रचण्डले ‘चर्चा नभएको नामतिर जाउ कि क्या हो ?’ भनेका थिए । बैठकपछि नेताहरुले प्रचण्डलाई कसलाई संकेत गरेका हुन् भन्ने अनुमान गरेका छन् । तर यही होला भन्न सक्ने अवस्था नभएकाले भोलिसम्म कुर्नुको विकल्प नभएको एक नेताले बताए ।
नेता डिलाराम आचार्यका अनुसार दिउँसो १ बजे केन्द्रीय समितिको बैठकअघि केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्नेछ । भन्छन्, ‘उहाँले भोलि केन्द्रीय कार्यालयको विस्तारित बैठकमा प्रस्ताव ल्याउनुहोला, त्यहाँ फाइनल गरेर केन्द्रीय समितिमा लैजाने कुरा भएको छ ।
पदाधिकारी संख्या प्रचण्डको इच्छा अनुसारसंगठनको सबै प्रस्ताव पेस गर्ने अधिकार पाएका प्रचण्डले पदाधिकारीको संख्या पनि निर्धारण गर्ने छन् । माओवादीको विधानमा बहुपदाधिकारीको व्यवस्था गरिएको भए पनि संख्या नतोकिएकाले संख्यमा पनि प्रचण्डकै तजबिज चल्ने देखिएको छ ।
नेता गजुरेलका अनुसार विधानमा उल्लेख नभएकाले संख्या जति बनाएपनि हुने अवस्था छ । ‘विधानमा उल्लेख नभएको हुनाले अलि सानो बनाउँदा पनि हुन्छ, ठूलो बनाउँदा हुन्छ,’ उनले भने, ‘मलाई चाहिँ ११–१५ को बीचमा राख्दा ठीक हुन्छ जस्तो लाग्छ ।पदाधिकारीको नाममा छलफल नभएपनि स्थायी समिति र पोलिटब्यूरो समिति सदस्यको नाम करिब–करिब टुंगिएको नेता आचार्यले बताए ।