साउनभित्र बोलपत्र आह्वान, कात्तिकदेखि काम
काठमाडौं -चालु आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयन आइतबारदेखि सुरु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा बजेट कार्यान्वयनमा कमजोर देखिएको सरकारले आगामी आवका लागि मार्गदर्शन जारी गरेको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बजेट कार्यान्वयन गर्ने निकायहरुका लागि मार्गदर्शन जारी गरेका हुन् ।
मार्गदर्शन अनुसार स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरण पूरा गरी कार्यक्रम/आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी साउन मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वान गरिसक्नु पर्ने भएको छ । २०७९ असोज मसान्तभित्र बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता गर्नु पर्ने छ ।