जनकपुरमा प्रत्येक शुक्रबार जनप्रतिनिधि तथा कर्मचारीलाई कार्यालय प्रवेश गर्न साइकल अनिवार्य
जनकपुरधाम- उपमहानगरपालिकाले नगरबासीलाई हप्ताको एक दिन साइकल चढ्न प्रेरित गर्ने अभियान सुरू गरेको छ।नगरप्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साह लगायतका जनप्रतिनिधि तथा कर्मचारीले साइकलमा नगर परिक्रमा गरी शुक्रबारबाट अभियान सुरू गरेका हुन्।
साताको प्रत्येक शुक्रबार जनप्रतिनिधि तथा कर्मचारीलाई कार्यालय प्रवेश गर्न साइकल अनिवार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले बताउनु भयो ।
उपमहानगरले साताको एक दिन साइकल चढ्ने र पालिकाभित्रका अन्य कार्यालयलाई समेत साइकल प्रयोग गर्न पत्राचार गर्ने चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमै उल्लेख गरिएको हो ।
इन्धनको भाउ बढेको बढ्यै छ त्यो बचत हुने भयो । साइकल चढ्ने अभियान स्वच्छता पनि कायम हुने भयो, स्वास्थ्य पनि सुधार हुने भयो प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने जनपकुर पहिले पनि साइकल चलाउनेकै सहर हो। सवारी चाप बढेकाले यसले ट्राफिक व्यवस्थापन पनि सहज हुन्छ।
जनप्रतिनिधि र कर्मचारीले साइकल आफैंले किन्नुपर्ने उनले बताए। साताको प्रत्येक शुक्रबार साइकल प्रयोग गर्न पालिकाभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्थाहरूलाई समेत पत्राचार गरिएको छ।