Connect with us
Kapilvast Forest

महाकाली पुल निर्माणको काम ९९ प्रतिशतले सम्पन्न

२०७९, १९ श्रावण बिहीबारमा प्रकाशित

महेन्द्रनगर- नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम ९९ प्रतिशत सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण भइरहेको हो ।

३४ वटा पिल्लर र ३२ वटा सल्याप बनाएर निर्माण भएको पुलको ९९ प्रतिशत काम सकिएको छ । पुलमा पिच समेत भइसकेको निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो पुलको काममा दुई तीन सय मिटर पिच गर्न मात्र बाँकी छ । चार वर्षअघि निर्माण सुरु भएको ४ लेनको पुलको काम वर्षा रोकिने बित्तिकै पिच गरेर सम्पन्न गरिने पाण्डेयले बताए ।

इन्जिनियर पाण्डेयले भन्नुभयोे पुलको दुवैतर्फ निर्माण हुने पहुँच मार्गको काम पनि ९५ प्रतिशत सकिएको छ । बाटोमा पर्ने ३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । निर्माण हुने ७.८ किलोमिटर सडक भरानको काम पनि सकिएको छ । पुलको पारी ६ सय मिटर र वारि १८ सय मिटर बाहेक ५४ सय मिटरमा पिच भइसकेको छ ।

सडक किनारमा निर्माण गर्नुपर्ने १२ किलोमिटर नाली निर्माणको काम सम्पन्न भइसकेको ईन्जिनियर पाण्डेयले बताउनुभयो । उहाँले थप्नुभयो पिचको काम पूरै सम्पन्न भइसक्थ्यो तर पोखरीको डिजाइनमा समस्या आएपछि त्यस वरिपरिको सडकमा पिच गर्न रोकेका हौं, अब समस्या सामाधान भइसक्यो तिब्र गतिमा काम हुन्छ ।

महाकाली पुल योजनाको समग्र कार्यमा ८१ प्रतिशत प्रगति भएको महाकाली पुल योजनाका साईड हेर्ने ईन्जिनियर दुर्गादत्त अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो पुलको काम सम्पन्न भएको छ, समग्र योजनाकै कुरा गर्ने हो भने ८१ प्रतिशत काम सम्पन्न भएको छ ।

भीमदत्त नगरपालिका–१३ ओदाली र माहाकाली नगरपालिका–१ चाँदनीलाई जोडनेगरि निर्माणाधीन पक्की पुलको २०७४ भदौ ७ मा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको थियो ।

आठसय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुलको काम तीन वर्षभित्र सक्नेगरि कुमार सिएफइसी जेभीसँग ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । पुलको दुवैतर्फ बाँध बाँधेर आँखा आकारको पोखरी निर्माण गरी पर्यटकीय स्थलका रुपमा समेत विकसित गरिने गरी पुलको डिजाइन गरिएको छ ।

पुलको उत्तरपट्टि १ वर्ग किलोमिटरभन्दा ठूला २ वटा पोखरी र दक्षिणपट्टि ०.३ वर्ग किलोमिटरका दुई वटा पोखरी निर्माण गरिने बताइएको छ । उत्तरपट्टिको तालमा ६ वटा आइसल्याण्ड बनाइने र ती आइसल्याण्डलाई पिकनिक स्पोर्टका रुपमा प्रयोग गरिने डिजाइनमा उल्लेख छ ।

तीन वर्षभित्रै काम नसकिने भएपछि निर्माण कम्पनीको आग्रहमा म्याद थप गरी २०७९ कात्तिकभित्र काम गरिसक्नु पर्ने म्याद दिएको छ । ‘पहिले महाकालीमा भारतले पानी छोड्ने समस्या र मुआब्जा विवादका कारण म्याद थप गर्नुप¥यो इन्जिनियर पाण्डेयले भन्नुभयोे ।

यो अवधीभित्र काम सक्नेगरी हामी लागेका हौं तर ताल बनाउँदा प्रयोग गर्नुपर्ने ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गर्नुप¥यो, अस्ति मात्र डिजाइन परिवर्तन भएर आएको छ, अब हामीले २०८० असारमा काम सक्छौ ।

पुल निर्माण भएसँगै यस क्षेत्रका व्यापार व्यवसायसँगै सडक सञ्जालबाट टाढा रहेको महाकाली पारीको क्षेत्रलाई पनि यातायातसँग पहुच जोडिनेछ । यस क्षेत्रका उद्योगी व्यवसायी र दोधारा चाँदनीबासीले वर्षाैदेखि पक्की पुलको माग गर्दैआएका थिए ।

पोखरीको डिजाइन परिवर्तन

नेपालकै गौरवको योजना अन्तर्गत महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलमा निर्माण गरिने भनिएको पोखरीको डिजाइन परिवर्तन गरिएको छ । २०७८ फागुनसम्म सम्पन्न भइसक्ने आयोजनामा डिजाइन बाधक बनेपछि पोखरीको डिजाइन परिवर्तन गर्नुपरेको महाकाली पुल योजनाका ईन्जिनियर दुर्गादत्त अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो अब डिजाइन परिवर्तन स्वीकृत भएको छ, ६० प्रतिशत ढुङ्गा र ४० प्रतिशत कंक्रिट अर्थात ढुङ्गा र मसालाको प्रयोगबाट पोखरी निर्माण हुनेछ । डिजाइन परिवर्तनसँगै ठेकेदार कम्पनीको म्याद पनि थप गरिने ईन्जिनियर अवस्थीले बताउनुभयो । २०७४ भदौ ७ गते ३ बर्षभित्र निर्माण सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएकोथियो ।

त्यसपछि २०७८ जेठ २ र २०७८ फागुन १५ मा गरी दुई पटक म्याद थप भइसकेको छ । अब २०८० साउन मसान्त सम्मका लागि म्याद थप्न सिफारिस गरिएको ईन्जिनियर अवस्थीले जनाउनु भयो । उहाँले भन्नुभयो म्याद थप गर्नैपर्छ, हाम्रो कारणले ढिलाई भएको हो, यसमा ठेकेदार कम्पनीको केही भुमिका छैन ।

४ अर्ब २० करोड ८३ लाख ६३ हजार ७ सय ५ रुपियाँ लागत अनुमान गरिएको योजनामा ठेकेदार कम्पनीसँग २२ प्रतिशत घटीमा ३ अर्ब २७ करोड ९३ लाख ४ सय ९१ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

काम गर्दैजाँदा केही सामान आवश्यक नभएको भेटिएपछि पुनरमुल्याङ्कन गर्दा ३ अर्ब २४ करोड २५ लाख रकम पुगेको थियो । दास्रो पटक केही सामान थप्नुपर्ने भएपछि पुनरमुल्याङ्कन गर्दा ३ अर्ब ६६ करोड ९ लाख हुन पुगेको ईन्जिनियर अवस्थीले बताए ।

यस पटक धेरै कामहरु थप्नुपर्ने भएपछि लागतमा २५ प्रतिशतभन्दा बढी रकम थप्नुपर्ने महाकाली पुल योजनाका सुचना अधिकारी इन्जिनियर सबिना रानाभाटले बताउनुभयो । उहाँले भन्नुभयो कति थप्नुपर्छ भन्ने अहिले भन्न सकिदैन फाईल बिभागमा पठाएका छौ अहिलेलाई २५ प्रतिशतभन्दा बढी बढ्छ भन्न सकिन्छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu