तीनपाङ्ग्रे सवारीलाई हरियो स्टिकर
हेटौँडा- उपमहानगर क्षेत्रमा सञ्चालन हुँदै आएका तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापन सुरु गरिएको छ। मुख्य बजार क्षेत्रमा तीनपाङ्ग्रे सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण र दुर्घटनाको जोखिम बढ्दै गएपछि उपमहानगरपालिकाको अगुवाइमा तीनपाङ्ग्रे सवारीसाधनलाई व्यवस्थित गर्न सुरु गरिएको छ ।
तीनपाङ्ग्रे सवारीसाधनको चाप नगर क्षेत्रमा बढ्दै गएपछि सञ्चालन गर्न अनुमति पाएका तीनपाङ्ग्रे सवारी साधनमा बिहीबारबाट सञ्चालन अनुमतिको स्टिकर लगाउन सुरु गरिएको हो।
हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले नगर क्षेत्रमा सञ्चालन परमिट पाएका तीनपाङ्ग्रे सवारीसाधनमा सञ्चालन अनुमतिसहितको हरियो स्टिकर टाँसेर तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन अभियानको शुभारम्भ गरिएको हो ।
उपमहानगरपालिकाबाहेक अन्य पालिका र बाहिरी जिल्लामा सञ्चालन परमिट पाएका तीनपाङ्ग्रे सवारीसाधनलाई उपमहानगरपालिकाभित्र सञ्चालनमा रोक लगाउँदै मुख्य बजार क्षेत्रको सवारी चाप कम गर्न र तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापन गर्न अभियान सुरु गरेको उपमहानगरपालिकाले बताएको हो ।
हेटौँडा उपमहानगरभित्र सञ्चालन गर्नेगरी करिब सात सय अटो र मयुरीले अनुमति पाए पनि झन्डै तीन हजारको सङ्ख्यामा तीनपाङ्ग्रे सवारीसाधन हेटौँडा उपमहानगरभित्र सञ्चालन हुँदै आएको जानकारी गराएको हो ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले अनुमतिसहितको हरियो स्टिकर लगाएका बाहेक अन्य तीनपाङ्ग्रे सवारीलाई हेटौँडा उपमहानगरभित्र सञ्चालनमा रोक लगाइने बताउनु भयो ।