सवारी लाइसेन्स बनाउँदा पनि सास्ती उस्तै
काठमाडौं- ललितपुर एकान्तकुना अवस्थित यातायात व्यवस्था कार्यालयको सवारी पार्किङमा थिए, काठमाडौंका मिलन विश्वकर्मा । दिउँसो २ बजे, भर्खरै सवारी चालक अनुमतिपत्रको ट्रायल पास गरेका उनी फोनमा कसैसँग आफ्नो खुशियाली बाँड्दै थिए ।
दिनहँु चाप हुने यातायात व्यवस्था कार्यालयमा उनी जस्ता धेरै जना ट्रायलको पालो कुर्ने र ट्रायल सजिलोसँग पास गर्ने आशामा अभ्यास गरिरहेका हुन्छन् । गाडी चलाउन अनिवार्य चाहिने सवारी अनुमतिपत्र पाउन त्यति सजिलो भने छैन । यसलाई मिलनको अनुभवले पनि पुष्टि गर्छ ।
मिलन भन्छन्, ‘मानसिक तनाव पनि उत्तिकै हुन्छ, बायोमेट्रिक विवरणका लागि बिहान ८ बजेदेखि लाइन बसेको दिउँसोको ४ बजे बल्ल पालो आयो । सर्भर पनि राम्रोसँग चल्दैन, अनलाइन फारम पनि मुश्किलले भरें ।’
मिलनले लाइसेन्स लिन गरेको यो प्रयास पहिलो होइन, यसभन्दा अगाडि उनी दुई पटकसम्म ट्रायलमा अनुत्तीर्ण भएका थिए । तेस्रो पटकको प्रयासमा उनले ट्रायल पास गरेका हुन् ।
मिलनको छेउमै बसेका थिए, ललितपुरका आङबहादुर लामा । ट्रायलमा असफल भएर निराश देखिएका लामालाई यातायात कार्यालयसँग ज्यादै नै मन दुःखेको रहेछ ।
उनी भन्छन्, ‘भद्रगोल व्यवस्थापन, कर्मचारीको रुखो व्यवहार, सेवाग्राहीको समयको कुनै प्रवाह नै छैन; नागरिकले तिरेको राजस्वबाटै तलब खाने हुन् तर नागरिकलाई गर्ने व्यवहार कत्ति पनि राम्रो छैन ।’
लामा ट्रायल अभ्यासको लागि कार्यालयले बढी पैसा लिएको बताउँछन् । एकपटकमा एक राउण्ड लगाउन पाइन्छ । त्यसको लागि पनि कार्यालयले दोब्बर पैसा उठाउने गरेको उनले बताए । यातायात कार्यालयको ट्रायल अभ्यास गर्न सेवाग्राहीले मोटरसाइकलका लागि १००, कारको लागि ६५० र हेभी गाडीको लागि १००० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।