आज तीजको दर खाने दिन, किन दर खाइन्छ ?
काठमाडौँ – हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ ।
विशेष गरी नेपाली नारीले मनाउने हरितालिकाअर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ ।
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाई बिहीबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।
महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ ।
यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महिनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीयरुपमा दर खाने दिनका लागि तोकिएको छ ।
साेमबार दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।