मंसिर ४ पछि एमालेको सरकार : महासचिव पोखरेल
बैतडी- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । बिहीबार बैतडीको पाटनमा आयोजित कायकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो दावी गर्नुभएको हो ।
मङ्सिर ४ गतेको निर्वाचनमा एमालेले बहुमत प्राप्त गरेर आएपछि पाँच दलीय गठबन्धनको सरकार विस्थापित हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एमाले सरकार बनाउन एक जना कार्यकर्ताले सात वटा भोटको जिम्मा लिनुपर्छ । भोट कम भएको ठाउँमा माओवादी र समाजवादीका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनुपर्छ ।”
मङ्सिरपछि पनि पाँच दलीय गठबन्धको सरकार बन्ने अवस्था आयो भने देशको भविश्य अन्धकार हुन्छ महासचिव पोखरेलले थप्नुभयो, “मङ्सिर ४ गतेको निर्वाचनमा मतको सुरक्षा गर्न हरेक बुथमा युवा दस्ता तयार गर्नुपर्छ ।”
एमालेको सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पु¥याउने भन्दै उहाँले मनमोहनको पालामा एक सय रुपियाँबाट सुरु भएको बृद्धभत्ता एमालेकै पालामा चार हजार पुगेको जानकारी दिनुभयो । निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले बृद्धभत्ता पाँच हजार पु¥याउने उहाँले प्रष्ट पार्नुभयो ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउने शक्ति एमाले मात्र भएकाले सबै नेपाली जनतालाई एमालेको झण्डामुनि गोलबद्ध हुन आव्हान गर्नुभयो ।
महासचिव पोखरेलले एमाले मात्रै राष्ट्रवादी शक्ति भएकाले एसपीपी सम्झौता एमालेका कारण रोकिएको दाबी गर्नुभयो । गठबन्धन सरकारले देश र जनताका लागि काम गर्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो ।