Connect with us
Kapilvast Forest

देशभर लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान : घर वरपर जमेको पानी फाल्न डाक्टरको सुझाव

२०७९, २३ भाद्र बिहीबारमा प्रकाशित

काठमाडाै देशका विभिन्न ठाउँमा डेङ्गीको सङ्क्रमण फैलिन नदिन लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र पालिका तहसँग समन्वय गरिरहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि प्रदेश र पालिका सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरी काम थालेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो ।

समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले पनि सबैलाई हप्ताको एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्न अभियान सञ्चालन गर्न अपिल गरेको छ ।

कार्यालय प्रमुख वसन्त अधिकारीले डेङ्गी सङ्क्रमण बढिरहेकाले सबैलाई हप्ताको एक दिन घर वरिपरिको पानी जमेको ठाउँमा रहेका लामखुट्टको लार्भा तथा अण्डा नष्ट गर्न अपिल गर्नुभएको हो । उहाँले डेङ्गीको नियन्त्रण लामखुट्टेको नियन्त्रणबाट मात्र सम्भव हुने भएकाले एक पटक मात्र लार्भा र अण्डा नष्ट नगरेर पटक पटक गर्नुपर्ने बताउनुभयो । ललितपुर महानगरले पनि लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ ।

अभियान सञ्चालन गर्दा पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, ड्रम, गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लाष्टिकको बोतल तथा भाँडा, पानी जम्ने गरी राखिएकाे भाँडा आदिमा लामखुट्टेको लार्भा तथा अण्डा पाइने हुँदा जमेको पानी फाल्न डाक्टरको सुझाव छ ।

नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गीका बिरामीको ज्यान गएको छ । बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलालीका १२ वर्षीय एक बालिकाको उपचारका क्रममा ज्यान गएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय पुरुषमा दमको कारण श्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

भेरी अस्पतालमा डेङ्गी सङ्क्रमित बिरामी उपचारका लागि आउने क्रम बढेको छ । त्यस्तै देशका अरु अस्पताल बिरामीले भरिन थालेका छन् । पहिलो पटक डेङ्गीको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा. चापागाईँले बताउनुभयो । यस वर्ष अहिलेसम्म ६ हजार दुई सयभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण देखिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu